फागुन २८, डोटी
नेकपा एमाले डोटीको चैत्र २ र ३ गते हुने भनिएको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशनका लागि छनोट भएर आएका प्रतिनिधि विरुद्ध केन्द्रीय सङ्गठन विभागमा उजुरी परेपछि अधिवेशन तोकिएको मितिमा नहुने निश्चित भएको हो ।
अधिवेशनका लागि चुनिएर आएका प्रतिनिधीहरुको विषयमा विवाद रहेको, आयोजक कमिटीका सदस्यहरू चुनिएर आउनुपर्नेमा त्यसो नभएको, समावेशी नभएको, पार्टीको विधान विपरीत प्रतिनिधि चुनिएको र निष्क्रिय तथा गठन नभएका जनसङ्गठनबाट प्रतिनिधि बनाइएको लगायतका आरोप सहित उजुरी परेको छ । केन्द्रीय सङ्गठन विभाग प्रमुख काशी नाथ अधिकारीले उजुरीको आधारमा आवश्यक छानबिन गर्नुपर्ने भन्दै प्रतिनिधिको विवाद समाधान गरेर मात्रै अधिवेशन गर्न सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।