बझाङको प्रदेशसभा (१) मा अगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले तीन जना आकांक्षीको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । शनिबार एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीको अध्यक्षतामा बसेको प्रदेश सचिवालयको बैठकले उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
उपनिर्वाचनका लागि एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी, जिल्ला सदस्य जुनाकुमारी जाग्री र राधा विष्ट खत्री को नाम सिफारिस गरिएको एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जानकारी दिए । उनका अनुुसार प्रदेश सचिवालय बैठकले जिल्लागत रिपोर्टिङ, पार्टी सदस्यता नवीकरण लगायतका विषयमा समेत विभिन्न निर्णय गरेको छ ।
२८ फागुनमा कर्णाली पुलमा ट्रकमाथि भएको आगालागीका कारण पुलमा भएको क्षतिपछि आवागमन रोकिएकोप्रति ध्यानाकर्षण भएको समेत एमालेले जनाएको छ । शीघ्र मर्मत सम्भारको काम सम्पन्न गरेर आवागमन सञ्चालन गर्न समेत सम्बद्ध निकायसँग माग गरिएको छ ।