चैत २१, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रमा सत्ता समीकरण फेरीपछि फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् तर उनले ठुलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र एक जना सांसद छन् । एमाले र माओवादीसँग संसदमा रहेको सङ्ख्या सरकार बनाउन पर्याप्त छैन ।
यहाँ राप्रपा निर्णायक देखिएको छ । तर राप्रपाले तत्काल कुनै पनि दललाई सत्ता केन्द्रित गतिविधिमा साथ नदिने बताएको छ । राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने हुँदा ठुलो दलको हैसियतमा फेरि आफैँ मुख्यमन्त्री हुने रणनीतिमा पाण्डे छन् । उता एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका थिए ।