
चैत्र २२, धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहिवार मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन् । तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले फागुन अन्तिम साता सरकारको समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण नभएपछि साँझ ५ बजेका लागि बैठक सारिएको थियो । ५ बजे पनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन् ।
सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो । सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाँ गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।
