डोटीमा चक्लावन्दी प्याज खेती बढ्दै

किरण धामी
चैत २५, डोटी
डोटीमा चक्लावन्दी प्याज खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न ठाउँका किसानले चक्लावन्दीमा प्याज खेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्क स्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा चक्लावन्दी प्याज खेती गर्नुभएको छ ।

२०६१ सालदेखि कृषि कर्म गरिरहनुभएका ६१ वर्षीय महराले ठुलो मात्रामा प्याज खेती गर्नु भएको छ । गत वर्ष ८ रोपनीमा मात्रै प्याज खेती गर्नुभएका महराले यो वर्ष १२ रोपनी जमिनमा थप प्याज खेती गर्नु भएको छ । कृषि ज्ञान केन्द्र डोटीबाट सिचाइका लागि पाइप र बिउँ पाएपछि प्याज खेती विस्तार गरेको महराले बताउनु भयो ।

२० रोपनी जमिनमा विभिन्न चरणमा ४ किलो प्याजको बिउँ रोपिएको महराले बताउनु भयो । ‘बिउँ फरक फरक समयमा राखेको थिए त्यसरी नै फरक फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम गराएको छु, महराले भन्नुभयो ।’ एक दिन काम गरेबापत एक जनालाई ज्याला स्वरूप ८ केजी प्याज दिने सहमति भएको महराको भनाई छ । उहाँले सिजनमा २५ देखी ३५ रुपैयाँ प्रति किलो र बेसिजनमा ४५ देखी ८० रुपैयाँ प्रति किलोका दरले प्याज बिक्री गर्दै आउनु भएको छ ।

प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महराको भनाई छ । महराले भन्नुभयो, ‘सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणको लागि कुनै व्यवस्था नहुँदा धेरै जसो प्याज बिग्रिएर जाने गरेको छ ।’ प्याज कुहिएर जाँदा उत्पान खेर गइरहेको हुन्छ ।

 

bhukampa
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थि महराले गर्नुभएको प्याज खेतीको अनुगमन गर्ने क्रममा ।

महराले यो वर्षदेखि प्याजको बिउँ पनि उत्पादन गर्न सुरु गरेका छन् । पहिलो पटक एक सय ५० गाना प्याज बिउँका लागि रोपिएका छन् । महराले गरेको प्याज खेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमुना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थिले बताउनु भयो । ८ रोपनीमा महराले गरेको प्याज खेतीबाट आफू प्रभावित भएपछि उहाँलाई प्रोत्साहन स्वरूप ज्ञान केन्द्रबाट बिउँ र सात सय मिटर ३२ एमएमको सिंचाई पाइप सहयोग गरिएको अवस्थिले बताउनुभयो । महराले प्याज रोपेको जमिनबाट करिब दुई सय क्वीन्टल प्याज उत्पादन हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभएको छ । किसानहरुले फलाएका प्याजको बजारीकरणको लागि व्यापारीहरुसँग समन्वय गरिरहेको पनि अवस्थिले बताउनुभयो ।

यस्तै बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले दश रोपनी जमिनमा प्याज खेती गर्नु भएको छ । उहाँले काटै स्थित मौडामा दश रोपनीमा चक्लावन्दी प्याज खेती गरिरहेको बताउनु भएको छ । उषा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म खोलेर कृषि पेसा गरिरहनुभएका बमले ३ वर्षदेखि प्याज खेती गर्न गर्न थाल्नु भएको हो । बमले थप ४० रोपनीमा प्याज खेती गर्ने सोच बनाएको पनि बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका धुव्र मलासीले पनि चार रोपनीमा प्याज खेती गर्नु भएको छ । उनले २ किलो प्याजको बिउँ चार रोपनी जमिनमा रोपेको बताउनु भएको छ । ६ रोपनी जमिन पुरैमा प्याज लगाउने सोच गरेकोमा बिउँका कारण २ रोपनीमा लसुन लगाएको मलासीको भनाई छ । चार रोपनी जमिनमा रोपिएको प्याजबाट दश क्वीन्टल जति उत्पादन हुने मलासीको अनुमान छ ।

Shaileshwori
Loading...