गण्डकीका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ
मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको काँग्रेसको दाबी

चैत २५, काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै माओवादी केन्द्रका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले पनि आजै मन्त्रीको शपथ लिएका छन् ।

तत्कालीन सत्ता समीकरण फेरीपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन रहेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् । यता, नेपाली कांग्रेसले भने मुख्यमन्त्री दाबी र नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सभामुख गणनालाई मान्यता नदिन आग्रह गरेका थिए । सभामुखसहित गणना भएपछि कांग्रेसअदालतमा रिट पेस गर्ने तयारीमा रहेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
