

चैत २५, बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिवार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषद्मा मुख्यमन्त्रीले नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । तीनै जना मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ गराइएको हो । मुख्यमन्त्री महराले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रालय विस्तारसहित मन्त्रालयको टुङ्गो लाग्ने छ ।
मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदको समर्थन छ । यसअघि सत्ता समीकरण फेरीपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए ।
