
चैत ३०, डोटी
प्रधानन्यायाधीश विश्वम्वरप्रशाद श्रेष्ठको गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक कामले डोटी पुग्नु भएका प्रधानन्यायाधीश श्रेष्ठको नागरिक स्तरबाट अभिनन्दन हुन लागेको हो । दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले नेतृत्व गर्ने नागरिक अभिनन्दन कार्यक्रम बारे शुक्रवार दिपायल सिलगढी नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिरको प्राङ्गणमा वैशाख २ गते दिउँसो १ बजे प्रधानन्यायाधीश श्रेष्ठको नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी सिंह खड्काले बताउनुभयो । डोटेली पुत्र न्यायालय क्षेत्रको अग्रणी भूमिकामा पुग्नु समग्र डोटेलीका लागि गौरवको विषय भएकाले अभिनन्दन कार्यक्रममा सहभागी भई प्रधानन्यायाधीश श्रेष्ठलाई सम्मान गरिदिन मेयर खड्काले अपिल गरेका छन् ।
बिहिवार डोटी पुग्नुभएका प्रधानन्यायाधीश श्रेष्ठ वैशाख २ गतेसम्म निजी कामको सिलसिलामा डोटीमै रहने कार्य तालिका रहेको बताइएको छ ।
