
वैशाख ३०, बैतडी ।
जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अतिरिक्त भत्ता बापतको रकम नपाएको भन्दै आन्दोलित स्वास्थ्यकर्मीहरुले आकस्मिक र मातृ सेवातर्फका बाहेक अरू काम बहिस्कार गरेका छन् ।
अतिरिक्त समय र सार्वजनिक बिदामा गरेको कामबापतको भत्ता नदिईपछि आन्दोलन गर्नुपरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. हरिशचन्द्र विष्टले बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पटक पटक भत्ता बापतको रकम माग गर्दा समेत बेवास्ता गरिएकाले डा. विष्टले सुनाए ।
मन्त्रालयले गत चैत मसान्तभित्र रकम पठाउने प्रतिबद्धता जनाएको भए पनि रकम नपठाएपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । जिल्ला अस्पतालमा कार्यालय सहयोगीदेखि चिकित्सकसम्म ९३ जनाले अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामबापतको भत्ता पाउन बाँकी छ ।
स्वास्थ्यकर्मीले बुधवार प्रदेश सरकारलाई ९६ घण्टे अल्टिमेटम दिँदै माग सम्बोधन नभए सङ्घर्षमा जाने चेतावनी दिएका थिए । माग सम्बोधन नहुँदासम्म आकस्मिक र मातृ सेवा बाहेकका कुनै पनि सेवा नगर्ने स्वास्थ्यकर्मीको चेतावनी छ ।
डा. विष्टका अनुसार गत वर्ष अतिरिक्त भत्तामा सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट पठाएको थियो भने यो वर्ष अस्पतालले ४९ लाख मात्र माग गरेको थियो ।
मन्त्रालयले १२ लाख रुपैयाँ निकासा गरेको भए पनि विभिन्न कारण देखाउँदै थप बजेट पठाएको छैन । मन्त्रालयले अहिले मन्त्री नभएको कारण देखाउँदै माग सुनवाइ गर्नमा आलटाल गरिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।


