

जेठ ३, धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहिवार प्रदेशसभामा मुख्यमन्त्री सोडारीले विश्वासको मत माग्दै राखेको प्रस्तावमा २८ मत परेको छ । प्रस्तावको पक्षमा परेको मत प्रदेश सभामा कायम सङ्ख्याको बहुमत रहेको सभामुख भीम भण्डारीले जानकारी गराए । सोडारीले राखेको प्रस्तावको विपक्ष र तटस्थमा भने शून्य मत परेको थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाएका थिए ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाएका थिए ।
