जेठ ७, काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिने भएका छन् । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड संसद्मा चौथो पटक विश्वासको मत लिन लागेका छन् ।
जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन लागेका हुन् ।
सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।