
जेठ १०, डोटी
जिल्ला अस्पताल डोटीमा जारी दुई दिने निःशुल्क शिविरको पहिलो दिन तीन ओटा शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल डोटीको आयोजनामा बिहीबारबाट सञ्चालन भएको दुई दिने शिविरमा तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ ।

शिविरमा वरिष्ठ गाइनोलोजिस्ट डा. सुरेन्द्र भट्टद्वारा पाठेघर खसेका महिलाको शल्यक्रिया र पाठेघरको भित्ता कमजोर भएका महिलाको पाठेघरको भित्ता बलियो बनाउने शल्यक्रिया भइरहेको जिल्ला अस्पताल डोटीका डाक्टर नीराजन श्रेष्ठले जानकारी दिए ।
आर्थिक अभावमा पाठेघरको समस्या बोकेर बस्न बाध्य भएका महिलालाई मध्यनजर गरेर शिविरको आयोजना गरिएकोले समस्या भएका महिलाहरूलाई अस्पतालमा आएर सेवा लिन डा. श्रेष्ठले बताए । शिविर शुक्रवार सम्पन्न हुने छ ।
