उत्पादकत्व बढाउन माटो परीक्षण गर्दै डोटीका स्थानीय तह
किरण धामी
जेठ ३२, डोटी
पछिल्लो समय बढिरहेको जनसङ्ख्यालाई पुग्ने गरी खाद्यान्नको उत्पादन गर्नु किसान र कृषि वैज्ञानिकहरूको लागि चुनौती बनिरहेको छ । घट्दो खेती योग्य जमिनले बढ्दो जनसङ्ख्याको मागलाई धान्नुपर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर धेरै जसो आयात गरिँदै आइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा पछिल्लो १० वर्षमा कृषक परिवारको सङ्ख्या बढेको छ तर क्षेत्रफल भने घटेको छ ।
कृषिमा उत्पादकत्व बढाउनु पर्ने अहिलेको आवश्यकता हो । उत्पादन वृद्धि गर्न रासायनिक मलको प्रयोग गरिँदै आए पनि असन्तुलित रूपमा रासायनिक मलको प्रयोगले माटोको अवस्था बिग्रिन पुगेको छ । जमिनको उर्वरा शक्ति बढाएर र माटो सुहाउँदो खेती प्रणालीले पनि उत्पादन बढाउन सहयोग गर्दछ जसको लागि माटोको विश्लेषण गर्नु पर्छ । माटोको विश्लेषण गर्न माटोको नमुना सङ्कलन गरी जाँच गर्नु नितान्त आवश्यक हुन्छ ।
डोटीका स्थानीय तहहरूले माटो परीक्षणलाई तीव्रता दिएका छन् । कृषिको उत्पादकत्व वृद्धिका लागि पालिकाहरूले माटो परीक्षणलाई प्राथमिकता दिइरहेका छन् । पालिकाहरूको अनुरोधमा कृषि ज्ञान केन्द्र डोटीले दुई दिने माटो जाँच उपचार शिविरको आयोजना गरेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोगमा बिहीबारबाट सुरु भएको शिविरमा पाँच ओटा पालिकाका पाँच सय माटोको नमुना परीक्षण गरिने भएको छ ।
सबै पालिकामा गएर माटो परीक्षण गर्न सम्भव नभएपछि दिपायल सिलगढी नगरपालिकामा दुई दिने शिविरको आयोजना गरिएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थिले बताउनुभयो । दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र के.आई.सिंह गाउँपालिकाबाट सङ्कलन गरिएका पाँच सय नमुनाको परीक्षण गरिन लागेको अवस्थिले बताउनु भयो ।
माटोको अम्लीयपना, क्षारीयपना, माटोको खाद्यतत्व (नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ) को अवस्था र माटोको सूक्ष्म तत्त्वहरूको अवस्थाको बारेमा थाहा पाउन माटो जाँच आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटोको अवस्थाको बारेमा थाहा पाउन जाँच गरिने हो, माटोको जाँच गरिएमा माटो सुधार गर्न सकिन्छ जसले गर्दा उत्पादकत्वमा वृद्धि हुन्छ ।’
पालिकाहरूले माटोको परीक्षण गरेपछि आगामी आर्थिक वर्षको बजेटमा नतिजा अनुसारको योजना तथा कार्यक्रम बनाउने बताएका छन् । माटोको अवस्था अनुसारको खेतीप्रति किसानहरूलाई आकर्षित गर्न र पालिकाको लगानी सुरक्षित गर्नको लागि पनि यस्तो कार्य गरिरहेका हुन् । आउने आर्थिक वर्षबाट शिखर नगरपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र के.आई.सिंह गाउँपालिकाले कृषि ज्ञान केन्द्रको सहयोगमा कफी खेतीको सुरुवात गर्ने योजना बनाएका छन् । दिपायल सिलगढी नगरपालिकाले भने कपास खेतीको सुरुवात गर्ने बताएको छ । साथै पालिकाहरूले व्यावसायिक तरकारी खेतीका लागि माटोको परीक्षण गरिरहेका छन् ।
माटोको वास्तविक अवस्था थाहा पाउन माटो परीक्षण गर्न लागिएको सायल गाउँपालिकाका कृषि शाखा प्रमुख तेज थापाले बताउनुभयो । परम्परागत रूपमा गरिदैआएको कृषि प्रणालीले किसानको जीवनयापन मात्रै भएकाले माटो परीक्षण गरेपछि व्यावसायिक कृषि गर्न सहयोग मिल्ने उहाँको भनाई छ । पालिकाको सबै ठाउँको माटोको प्रतिनिधित्व हुनेगरि माटोको नमुना सङ्कलन गरिएको थापाले बताउनुभएको छ ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले आगामी आर्थिक वर्ष देखी दिपायल सिलगढी नगरपालिकामा व्यावसायिक कपास खेती र अरहर खेती गर्ने बताउनुभयो । खाद्यान्न बाली र तरकारी खेतीका साथसाथै नगरपालिकाका विभिन्न ठाउँमा कपास र अरहरको खेतीको लागि राम्रो सम्भावना रहेको प्रमुख खड्काले बताउनुभयो । माटोको परीक्षण पश्चात् खेतीका लागि माटो अनुकूल रहे नरहेको थाहा पाइने उहाँको भनाई छ ।
यस वर्ष जिल्लाका नौ ओटा पालिकाहरूमा तीन पालिकाले यसअघि नै माटो परीक्षण गरिसकेका छन् भने एउटा पालिकाले परीक्षण गरेको छैन । जोरायल गाउँपालिका, आदर्श गाउँपालिका र बडीकेदार गाउँपालिकाले यसअघि नै माटो परीक्षण गरिरहेका छन् । आदर्श र बडीकेदारले ज्ञान केन्द्रको सहयोगमा माटो परीक्षण गरेका हुन् भने जोरायलले आफै माटो परीक्षण गरेको हो ।
माटो परीक्षण गरेका पालिका के गर्दै छन् ?
आदर्श गाउँपालिकाले गत वर्षको माघ ७ र ८ गते दुई दिन घुम्ती शिविर मार्फत पालिकाका सबै वडाका विभिन्न ठाउँका तीन सय ३३ ओटा माटोको नमुना परीक्षण गरेको थियो । माटो परीक्षण पश्चात् यहाँको माटोमा अम्लीयपना भेटिएको कृषि शाखा प्रमुख अन्जना शाहीले जानकारी दिनुभयो । मलको सही तरिकाले प्रयोग नहुँदा माटोको खाद्यतत्वमा कमी आएको उहाँको भनाई छ । माटो परीक्षण पश्चात् यहाँको माटो सुहाउँदो खाद्यान्न बाली, फलफूल, तरकारी, दलहन बालीहरूको बारेमा किसानहरूलाई जानकारी गराउन सहज भएको उहाँले बताउनुभयो । आगामी वर्ष किसानहरूलाई माटोको बारेमा जानकारी गराउँदै त्यही किसिमका कार्यक्रम पालिकाले बनाउन लागेको शाहीले बताउनुभयो ।
यस्तै बडिकेदार गाउँपालिकाले पनि गत वर्षको माग २२ र २३ गते एक सय १९ ओटा माटोको परीक्षण गरेको थियो । यहाँ पनि माटोमा अम्लीयपन (नाइट्रोजन) को मात्रा धेरै भेटिएको छ । माटोको अम्लीयपन कम गरी माटो सुधारका लागि किसानलाई कृषि चुन प्रयोग गर्न आग्रह गरिएको कृषि शाखा प्रमुख सुरेश मलासीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा सुन्तला जोन क्षेत्रको मात्रै माटो परीक्षण गरिएको आगामी वर्ष अन्य ठाउँको पनि माटो परीक्षण गरिने उहाँले बताउनुभयो । माटो परीक्षणपछि सो क्षेत्रमा यस वर्ष थप करिब चार हजार सुन्तलाका बिरुवा रोप्न लागेको उहाँले बताउनुभएको छ ।