
रामहरि ओझा
असार ९, डोटी । शिक्षाको गुणस्तर सुधारका लागि डोटीको आदर्श गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गर्ने भएको छ ।
गाउँपालिकाले आयोजना गरेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी तालिमको समापनका क्रममा गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले सो कुरा बताएका हुन् । ‘विद्यालयले शिक्षक नभएका कारण पढाई कमजोर भयो भन्यो, हामीले शिक्षक पठायौँ, भौतिक पूर्वाधार नभएका कारण समस्या भयो भन्यो, हामीले भौतिक पूर्वाधार निर्माणका लागि पनि सहयोग गर्यौँ’ अध्यक्ष खड्काले भने ‘तर शिक्षाको गुणस्तरमा त फेरी पनि सुधार भएन !’

यसबाट शिक्षक र भौतिक पूर्वाधार हुँदैमा शिक्षाको गुणस्तरमा सुधार नहुने रहेछ भन्ने सिकाई भएको अध्यक्ष खड्का बत्ताउँछन् । गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न विषयगत शिक्षकहरू र प्राधानाध्यापकहरुलाई छुट्टाछुट्टै तालिम दिएको खड्काले बताए । उनले भने ‘प्रधानाध्यापक र विषय शिक्षकहरूबिच भएको छलफलबाट विद्यालयसँग कार्यसम्पादन सम्झौता गर्नु पर्ने निष्कर्षमा गाउँपालिका पुगेको छ ।’ शिक्षामा सुधार नभएसम्म समाजको समग्र विकास हुन नसक्ने अध्यक्ष खड्काको भनाई छ ।
गाउँपालिकाले विद्यार्थी अनुपातमा शिक्षक सङ्ख्या पुर्याउने उद्देश्यले ५५ जना गाउँपालिका अनुदान शिक्षक दरबन्दी सिर्जना गरी शिक्षक खटाएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले बताइन् । विद्यालयको समग्र व्यवस्थापनका लागि व्यवस्थापन सक्रिय हुनु पर्ने रोकाया बताउँछिन् ।
३ दिनसम्म चलेको विद्यालय व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिममा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको शिक्षा शाखा प्रमुख पदम सिंह विष्टले जानकारी दिए ।
