
असार १५ डोटी । सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीले रातो किताब सार्वजनिक भएको सन्दर्भमा छानबिन हुनुपर्ने बताएका छन् । सांसद ओलीले शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक गर्नेहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

सरकारको वेबसाइट मार्फत सार्वजनिक हुनुभन्दा पहिला नै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरुपमा सार्वजनिक भएकोमा सांसद ओलीले सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार जनता र संसद् प्रति उत्तरदायी छ र ? भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारले बजेट बारे सदनलाई जानकारी दिएर आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्ने विधि हो तर सुदूरपश्चिम प्रदेश सरकारले बजारमा बजेटको उमा बाढेर के जात्रा गर्न खोजेको हो ? यो सरकार सदन र जनता प्रति के साँच्चिकै उत्तरदायी छ त ? गम्भीर प्रश्न उठेको छ ! यदि सरकार यसरी नै अगाडि बढ्ने हो भने सहकार्यको औचित्य पुष्टि होला त ? मलाई लाग्छ यो गम्भीर गल्ती भएको छ यो पक्रियालाई सुरु देखि सच्चाउनु पर्छ । विधिको शासन स्थापित गर्नु पर्छ र यस पक्रियामा सहभागितालाई छानबिनको दायरामा ल्याउनु पर्छ ।’
