
किरण धामी
असार १८, डोटी
जलवायु परिवर्तनको असरले मुहान सुक्न थालेपछि पानीको मुहान संरक्षण गर्नका लागि बनाइएका रिचार्ज पोखरीको प्रभाव देखिन थालेको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरको श्रीपातलमा बनाइएका रिचार्ज पोखरीको राम्रो प्रभाव देखिएको छ । सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था ग्रामीण समुदाय विकास केन्द्रले गत वर्ष श्रीपातलमा पाँच ओटा रिचार्ज पोखरी निर्माण गरेको थियो । श्रीपातलको गाउँको करिब पाँच सय देखि एक हजार मिटरको माथि रिचार्ज पोखरी बनाइएका छन् ।
श्रीपातलमा विगतका वर्षहरूमा खडेरीको समयमा खाने पानीको समस्या हुने गर्दथ्यो । चैत महिना देखी असारसम्म गाउँमा भएका खाने पानीका मुहान सुक्ने हुँदा खानेपानीको अभाव हुन्थ्यो । पाँच ओटा परिवारको बसोबास रहेको श्रीपातलका बासिन्दाले पानीको समस्या हुँदा एक घण्टाको बाटो हिँडेर थाप्ले खोलाबाट पानी ल्याउनु पर्थ्यो । तर यो वर्ष भने अहिले सम्म खोलामा गएर पानी ल्याउनु नपरेको श्रीपातल बासीको भनाई छ ।
गाउँमाथि बनाइएका रिचार्ज पोखरीका कारण पहिलाको जस्तो पानीको समस्या भोग्नु नपरेको श्रीपातलका लाल बहादुर बुढा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ चार ओटा पानीका नाउला छन् । विगतमा खडेरीको समयमा सबै नाउँलाको पानी सुक्थ्यो खाने पानी खोलाबाट बोकेर ल्याउनु पर्थ्यो । यो वर्ष अहिलेसम्म खोलाबाट पानी बोक्नु परेको छैन ।’ यो वर्ष गाउँकै नाउँलाको पानी खानको लागि पर्याप्त भएको उहाँले बताउनुभयो ।

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम बहादुर घर्तिमगरले पनि रिचार्ज पोखरीको राम्रो प्रभाव परेको बताउनुभयो । चैत वैशाखमा पुर्णरुपमा सुक्ने पानीका मूल जङ्गलमा बनाइएका रिचार्ज पोखरीका कारण यो वर्ष नसुकेको उहाँले बताउनुभयो । उहाँले पानीको समस्या हुने आफ्नो वडाका अन्य ठाउँहरूमा पनि रिचार्ज पोखरीको बनाउनको लागि पहल गरिरहेको बताउनुभयो ।
ग्रामीण समुदाय विकास केन्द्र (आरसिडिसी) ले हालसम्म बोगटान फुड्सिल गाउँपालिकामा २२ ओटा रिचार्ज पोखरी बनाइसकेको संस्थाका परियोजना संयोजक प्रयागराज कापडीले बताउनु भयो । युएमएनसँगको साझेदारीमा सञ्चालित दिगो वातावरणका लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना अन्तरगत गाउँपालिकाको वडा नम्बर १, ४ र ७ मा रिचार्ज पोखरी निर्माण भइरहेको संयोजक कापडीले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पनि रिचार्ज पोखरी बनाइरहेको बताउनुभयो ।
यो वर्ष वडा नम्बर १ सिमचौरको मौरी सामुदायिक उपभोक्ता वन काटैमा तीन ओटा, जाउँलाखाल सामुदायिक वन गुइनाडामा दुई, वडा नम्बर ४ को जजलामा चार, डाडामान्डौ एउटा, वडा नम्बर ७ चवराचौताराको जनजागृति सामुदायिक वनको दाच्कामा चार र धुपिखोला खानेपानी अन्तरगत लखुडामा चार ओटा रिचार्ज पोखरी निर्माण गरिरहेको आरसिडिसीले जनाएको छ । रिचार्ज पोखरी साढे एक मिटर उचाइ र ४/५ मिटर देखि १५/१५ मिटर सम्मका बनाइरहेको संस्था सब इन्जिनियर करन विष्टले बताउनुभयो । रिचार्ज पोखरी पानीको मुहान संरक्षणमा उपयोगी हुने हुँदा बोगटान फुड्सिल गाउँपालिकाका थुप्रै ठाउँबाट पोखरी बनाइदिन माग आइरहेको आरसिडिसीले जनाएको छ ।
के हो रिचार्ज पोखरी ?
रिचार्ज पोखरी भनेको बर्सातको पानी रोक्न जमिनमा बनाइएको एक प्रकारको ठुलो खाल्डो हो । जसले बर्खाको समयमा परेको पानी जम्मा गर्न मद्दत गर्दछ । पोखरीमा जम्मा भएको पानीले जमिनलाई रिचार्ज गरेर पानीका मुहान सुक्नबाट जोगाउन सहयोग गर्दछ । रिचार्ज पोखरी विशेष गरेर पानीका मुहान भन्दा माथि बनाइन्छ । यसरी जङ्गलमा बनाएका रिचार्ज पोखरीमा जम्मा भएको पानीले पानीका मुहान सुक्न दिँदैन भने अर्कोतिर जङ्गलमा भएका जनावरलाई खानका लागि पनि उपयोगी हुन्छ ।
