
किरण धामी
असार २७, डोटी
डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थीले तिन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन गरेका छन् । २२ वर्षका अवस्थीले वि.स. २०७७ सालमा कृषि विज्ञानको पढाई पुरा गरे । सो वर्ष उनी व्यावहारिक अभ्यास (ओजेटी) का लागि सिन्धुली गए । सिन्धुलीमा व्यवहारिक अभ्यासका क्रममा उनले वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । व्यवहारिक अभ्यास सकिएपछि काठमाडौं जाने र वैदेशिक रोजगारीका लागि कोरियाको प्रक्रिया अगाडी बढाउने उनको योजना थियो ।
तर व्यावहारिक अभ्यास सकिनुपुर्व नै उनको योजनाको तगारो बन्यो कोभिड–१९ । त्यस बेला विश्व महामारिकको रूपमा फैलिएको कोभिड–१९ कारण २०७७ चैत महिनाको ११ गतेबाट सरकारले लगडाउनको घोषणा गरेपछि उनी घर फर्किनु पर्यो । मुकुन्द घर फर्किएपछि न सिन्धुली गए नत वैदेशिक रोजगारीको प्रक्रिया थाल्न काठमाडौं नै गए । घर फर्किएपछि मुकुन्दको योजना परिवर्तन भयो । मुकुन्द अहिले कृषि पेसामा रमाइ रहेका छन् ।

‘नेपालमा कोरोना कहर सुरु भएपछि लगडाउन भयो अनि घर फर्किए । घरमा त्यत्तिकै बस्ने कुरा आउँदैन खेतीपातीमा व्यस्त हुन थाले, मुकुन्दले भने, खेतीपातीमा लागेपछि मेरो लगाव यसमै बढ्न थाल्यो र व्यवसायीक कृषि गर्न थाले ।’ मुकुन्दले आदर्श गाउँपालिका वडा नम्बर १ को चाँसीमा करिब १२ रोपनीमा व्यवसायीक तरकारी खेती गरेका छन् । २०७८ साल देखी तरकारी खेती सुरु गरेका मुकुन्दले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेका छन् ।

कुनै बेला वैदेशिक रोजगारीमा कोरिया जाने योजना बनाएका मुकुन्द कृषिमा राम्रो गरेर उत्कृष्ट कृषक बन्ने चाहानाका साथ तरकारी खेती गरिरहेका छन् । ‘कृषि विज्ञान अध्ययनका क्रममा लोक सेवाको तयारी र वैदेशिक रोजगारी मेरो लक्ष्य थियो अब त्यस्तो छैन, मुकुन्दले भने, पढाइबाट आर्जन गरेको ज्ञान आफ्नै ठाउँमा कृषि गरेर प्रयोग गर्छु, सरकारले कृषि नीति राम्रो ल्याएमा आजीवन कृषि कर्म गर्छु ।’
मुकुन्दले ७ रोपनी जमिनमा खुल्ला रूपमा र ४ रोपनीमा २५ ओटा प्लास्टिक घर (टर्नेल) बनाएर तरकारीखेति गरेका छन् । खुल्ला जमिनमा मौसमी तरकारी फलाउने गरेको र प्लास्टिक घरमा बेमौसमी तरकारी फलाउने गरेको मुकुन्दले बताएका छन् । उनले फलाउने तरकारीमा प्रविधिको प्रयोग गरिएको छ । टर्नेलमा मञ्चिङ प्रविधिका साथै थोपा सिचाई प्रविधिको प्रयोग भएको छ । स्वच्छ तरकारी उत्पादन गर्न उनले कम्पोस्ट मलको प्रयोग गर्छन् । उनले भने, ‘घरमा दुई ओटा भैँसी, १५ ओटा बाख्रा, गाई, गोरु पालेका छौँ, तरकारी खेतीमा प्रयोग गर्न कम्पोस्ट मल पर्याप्त हुन्छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्न थालेको छु ।’

उनले मुख्य रूपमा टमाटर, बन्दा, काउली, खुर्सानी खेती गर्छन् । गत वर्ष टमाटर मात्रै पाँच लाख रुपैयाँ बराबरको बिक्री गरेको मुकुन्दले बताए । सो वर्ष उनले करिब ९ लाख रुपैयाँ बराबरको तरकारीको कारोबार गरेका छन् । तरकारी खेती सुरु गरेपछि मुकुन्दको परिवार स्वतः स्वरोजगार बनेको छ भने पाँच जनाले रोजगारी समेत पाएका छन् ।
मुकुन्दले व्यावसायिक रूपमा तरकारीखेति सुरुगरेपछि विभिन्न निकायबाट सहयोग पाएका छन् । उनले कृषि ज्ञान केन्द्र डोटीबाट थोपा सिचाई, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन लगायतमा ६ लाख रुपैयाँ भन्दा बढी, आदर्श गाउँपालिकाबाट डेड लाख रुपैयाँ र क्षेत्रीय कृषि निर्देशनालयबाट ३५ हजार सहयोग प्राप्त गरेको बताए छन् ।
व्यवसायीक रूपमा तरकारी खेतीको सुरुवात गरे पनि बजार र सडक सञ्जालको समस्याले गर्दा उत्पादनलाई बिक्री गर्न गाह्रो भइरहेको मुकुन्दले बताए छन् । उनले भने, ‘गाउँमा खेती गरेको छु यहाँको कच्ची सडक बाह्रै महिना सञ्चालन हुँदैन जसले गर्दा उत्पादित तरकारी बजारसम्म पुर्याउन समस्या हुने गरेको छ ।’ उनले स्थानीय सरकारलाई राम्रो सडक र बजारको सुनिश्चितता गरिदिन आग्रह समेत गरेका छन् ।

