
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिए । उनले कांग्रेस र एमाले प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई रोक्न पनि आफूले राजीनामा नदिई संसदमा विश्वासको मतको फेस गरेको बताए ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।
उनले भने, ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’

यस्तै प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको आरोप लगाउँदै भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’ कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ ।
डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।
प्रचण्डले दुई दलबिच लुकेर भएको सहमति राष्ट्रिय सहमति नहुने पनि बताए ।उनले भने, ‘दुई दल आफैँ मिलेको हैन, तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’
उनले कांग्रेस एमालेबिच असार १७ गते राती सहमति भएर हस्ताक्षर भए पनि १८ गते एमाले अध्यक्ष केपी ओलीले सहमति भएकै छैन भनेर झुट बोलेको बताए । त्यसबारे आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दा देउवाले म झुट बोल्दिन भन्दै सहमति भएको बताएको उल्लेख गरे । उनले ओलीमा ढाँट छलको सीमा नभएको बताए ।
एमाले र कांग्रेस मिल्दा आफूलाई तनाव नहुने उल्लेख गर्दै प्रचण्डले जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न दुई दललाई सुझाव दिए । जनताको अधिकार खोस्न सजिलो नहुने भन्दै उनले अब त्यसो सोचिए या जिस्क्याउने कोसिस भए संसद् र सदनमा ठुलो प्रतिरोध हुने बताए । रातोपाटीबाट
