कृषि पाठशाला सञ्चालनपछि रुपसकाडाका सबै तरकारी खेतीमा 

किरण धामी
साउन ७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ रुपसकाडाका बासिन्दा तरकारी खेतीप्रति आकर्षित भएका छन् । पुर्खादेखि गरिँदै आएको खेतीबाट आम्दानी लिन नसकिएको भन्दै रुपसकाडाका स्थानीय तरकारी खेती गर्न थालेका हुन् । आत्मनिर्भर खेती गरिरहेका यहाँका बासिन्दाले व्यावसायिक रूपले तरकारी खेती सुरु गरेका छन् ।
कृषि ज्ञान केन्द्र डोटीले कृषकहरूको सहजताको लागि गत आर्थिक वर्षमा कृषि पाठशाला सञ्चालन गरेपछि गाउँका सबै घरपरिवार तरकारी खेतीप्रति आकर्षित भएका हुन् । कृषि पाठशालाबाट तरकारी खेती गर्ने तरिका सिकेर गाउँका सबै ३५ घरपरिवारले बन्दा खेती गरेको पाठशालाका सहजकर्ता खडक मल्लले बताए । यहाँका प्रत्येक परिवारले एक देखि तीन रोपनीमा बन्दा खेती गरेको मल्लले बताए ।
‘कृषि ज्ञान केन्द्रले यस क्षेत्रलाई तरकारी पकेट बनाउने उद्देश्य राखेको छ त्यही उद्देश्यलाई आत्मसात् गर्दै कृषि पाठशाला सञ्चालनमा ल्याइएको हो, मल्लले भने, पाठशालामा  परम्परागत र आधुनिक गरी दुई तरिकाले परीक्षण खेती गरेका थियौ, त्यसकै आधारमा किसानले तरकारी खेतीको सुरुवात गरेका छन् ।’ पाठशालामा परीक्षण स्वरूप गरिएको खेतीबाट रोग तथा किराको पहिचान र व्यवस्थापन गर्ने तरिका, स्थानीय स्तरमै उत्पादन गरी प्रयोग गर्न सकिने झोल मल बनाउने र प्रयोग गर्ने तरिका, किराहरूको नियन्त्रणका लागि पासा थाप्ने प्रक्रिया, आधुनिक तरिकाले खेती गर्दा हुने फाइदा लगायतको जानकारी किसानहरूलाई दिइएको सहजकर्ता मल्लले बताए ।
Sayalb
कृषि पाठशालामा प्रयोग गरिएको आधुनिक प्रविधि मञ्चिङको प्रयोग गरी किसानहरूले बन्दा खेती गरेका छन् । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको प्लास्टिक घर र मञ्चिङले खेती गर्न सहज भएको किसानहरूले बताएका छन् । परम्परागत रूपमा खेती गरिरहेका यहाँका किसान भक्त बहादुर थापाले यो वर्ष ४ रोपनीमा तरकारी खेती गरेका छन् । उनले केही प्लास्टिक घर तथा मञ्चिङ प्रविधिको प्रयोग गरेर र केही खुल्ला रूपमा बन्दा, खुर्सानी र गोलभेँडा खेती गरेका छन् ।
‘पाठशालामा सिकेको प्रविधिले खेती गर्न धेरै सहज भएको छ, किसान थापाले भने, प्लास्टिक घर तथा मञ्चिङ प्रविधिको प्रयोग गरेर खेती गर्दा मिहिनेत कम लाग्छ र उत्पादन पनि बढ्छ ।’ मञ्चिङ प्रविधिको प्रयोग गरेमा माटोमा चिस्यान रहिरहने, धेरै गोडमेल गर्न नपर्ने, तापक्रम मिल्ने र बिरुवालाई राम्रोसँग हुर्किन मद्दत पुग्ने भएकाले उत्पादन बढ्ने थापाले बताए । आउने दिनहरूमा तरकारी खेती विस्तार गर्दै जाने उनले बताए ।
यहाँका विनय भण्डारीले पनि यो वर्ष ७ रोपनीमा बन्दा खेती गरेका छन् । ज्ञान केन्द्रले सहयोग गरेपछि तरकारी खेतीको सुरुवात गरेको भण्डारीले बताए । ‘हामी धान, गहुँ जस्ता बालिको मात्रै खेती गरिरहेका थियौँ त्यो मात्रै आत्मनिर्भरमा सीमित थियो, भण्डारीले भने, पुरानो खेती प्रणालीले आम्दानी नहुने भएपछि व्यवसायीक रूपमा तरकारी खेती गर्न थालेको छु ।’
कृषि ज्ञान केन्द्र डोटीले रुपसकाडालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप ज्ञान केन्द्रले गत आर्थिक वर्षमा सो क्षेत्रमा कृषि पाठशाला सञ्चालनमा ल्याइ किसानलाई तरकारी खेतीप्रति आकर्षित गरेको छ । ज्ञान केन्द्रले पाठशालाको सञ्चालन सँगै किसानलाई प्लास्टिक घर, मञ्चिङ र विभिन्न तरकारीको बिउँ उपलब्ध गराएको थियो ।
Shaileshwori
Loading...