
किरण धामी
साउन ९, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ कुमालीकोटका नारायण कठायतले २०७१ सालमा एक सय ५० ओटा बोटा आँप रोपे । कुमालीकोट स्थित करिब १५ रोपनी जमिनमा कठायतले कलमी आँपका बिरुवा रोपेका थिए । त्यो समयमा जिल्ला कृषि डोटीबाट प्रति बोटा रु. २० का दरले आँप खरिद गरेर रोपेको नारायणले बताएका छन् । तत्कालीन समयमा आँप रोप्दा भविष्यमा राम्रो आम्दानी लिने उनको योजना थियो ।
तर आज भन्दा दश वर्ष पहिलाको नारायणको योजना सपनामै सीमित हुन पुगेको छ । उनले कलमी भनेर रोपेका आँप स्थानीय प्रकृतिका (लोकल) निस्किएपछि आँपबाट आम्दानी लिने योजना पुरा हुन सकेन । ‘भविष्यमा आम्दानी लिने योजनासहित कलमी आँप रोपेको थिए, कठायतले भने, आँप फल्न पनि समय लाग्यो, फलेपछि अधिकांश आँप स्थानीय प्रकृतिका निस्किए ।’

उनले रोपेका एक सय ५० बोटा आँपमा ८० प्रतिशत भन्दा बढी स्थानीय प्रकृतिका निस्किएका छन् । कलमी भनेर रोपेका आँप नै स्थानी प्रकृतिका निस्किएपछि आम्दानी लिने योजना सहित दश वर्षको मिहिनेत पनि खेर गएको छ । अहिले लोकल निस्किए आँप उनले काटिदिएका छन् । ‘कलमी भनेर लगाएका आँप लोकल निस्किदा बारीमा राख्न उचित भएन त्यसैले काटिदिए, कठायतले भने, आज भन्दा तीन वर्ष अगाडी देखी नै लोकल आँप काट्न सुरु गरेको थिए ।’
लगाएको बेला कलमी हो की लोकल भनेर थाहा नपाइने भएकाले आफू ठगिन पुगेको कठायतले बताए । कठायतले लोकल निस्किएका आँप काटेपछि फेरी पनि सो बारीमा आँप र कागती लगाएका छन् । यो वर्ष करिब ५० बोट जति आँप लगाएको उनले बताए ।
यस विषयमा कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीसँग बुझ्दा कठायतले लगाएको आँप कलमी नभएर बिजु हुन सक्ने बताए । उनले भने, ‘खरिद गर्दा कलमी जस्तै देखिन सक्छन् तर वास्तवमा कलमी हो की होइन भनेर त्यति बेला पत्ता लगाउन सकिँदैन, त्यसका हामीले लगाएको दुई तिन वर्ष जति कुर्नै पर्छ ।’ यसरी ठगिनबाट जोगिन स्रोत केन्द्रले तोकेका स्थानहरू र विश्वासिलो नर्सरीबाट ल्याउने र छिटो फल्ने जातका आँप खरिद गरेर रोप्न सकिने नि.प्रमुख अवस्थीले सुझाव दिएका छन् ।
