
किरण धामी
साउन ११, डोटी । जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानहरूले बर्सेनि क्षति बेहोर्नु परेको हुन्छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोग व्याधिजस्ता जोखिमका कारण बालीनालीको क्षति हुने गर्दछ । यसरी हुने जोखिमलाई मध्येनजर गर्दै नेपालमा कृषि बिमा कार्यक्रम लागु गरिएको छ । कृषकलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले १ माघ २०६९ मा ‘बाली तथा पशुपक्षी बिमा निर्देशिका– २०६९’ जारी गरी कृषि बिमा सुरु गरिएको थियो ।
बिमा कार्यक्रम लागु भएको लामो समय भइसक्दा पनि डोटी जिल्लाका किसानहरूमा यसप्रति आकर्षण बढेको देखिँदैन । नेपाल बिमा प्राधिकरण धनगढीका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा २३ जना व्यक्तिले कृषि (बाली) बिमा गरेका छन् । यस आर्थिक वर्षमा एक जनाले किवी र २२ जनाले सुन्तलाको बिमा गरेका छन् । उनीहरुले गरेको बिमाको रकम ७६ लाख ९६ हजार ९० रुपैयाँ ३७ पैसा बराबरको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा कृषि बिमालेखको सङ्ख्या दश मात्रै रहेको छ । दश ओटा बिमालेखमा एक जना व्यक्तिले सुन्तला, एक जनाले आलु, दुई जनाले धान र बाँकी सहकारीहरूले विभिन्न अन्न बालिको बिमा गरेको पाइएको छ । यस वर्षको जम्मा बिमा रकम एक करोड ४५ लाख ७२ हजार रुपैयाँ बराबरको थियो । नेपाल बिमा प्राधिकरण धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–०७९ मा कृषि (बाली) बिमा गर्नेको सङ्ख्या शून्य रहेको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड डोटी शाखाका इन्चार्ज आदित्य चन्दले जिल्लामा बाली बिमा गर्नेको सङ्ख्या न्यून रहेकाले किसान जागरूक हुनुपर्ने बताएका छन् । केही किसानहरू बिमा गर्न चाहने भए पनि उहाँहरूको आवश्यक प्रक्रिया पुरा नहुने गरेको उनको भनाई छ । उनका अनुसार बाली बिमा गर्न कम्तीमा २ रोपनी जमिनमा खेती गरिएको हुनु पर्ने, जग्गाधनी पुर्जा हुनुपर्ने लगायतका विभिन्न प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ ।
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले किसानहरूले बिमाको उपयोग गर्न नसक्नु दुखद भएको बताए । बिमा गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण किसानहरूले चाहेर पनि बिमा गर्न नसकिरहेको उनले बताए । उनले भने, ‘बिमा प्रक्रिया झन्झटिलो छ, कतै सरकारले तोकेको मापदण्ड पुग्दैन, कतै बिमा कम्पनीहरूले नै उच्च चासो राख्दैनन्, अर्कोतिर यहाँका बिमा कम्पनीहरूका आफ्ना प्राविधिक पनि छैनन् जसले गर्दा बिमा गर्न साह्रै समस्या हुने गरेको छ ।’
