
साउन १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमानदार र स्वप्नशील नेता भएको धारणा राखे ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै भने, “पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्त्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यो । यसका लागि पुष्पलालको ठुलो योगदान छ भन्ने मलाई लाग्छ ।’’

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सूत्र समातेको बताए । राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरविरोधहरूलाई सुविचारित ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको पनि बताए । उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे ।
राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको उल्लेख गरे ।
