
साउन १८, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रवार प्रदेश सभालाई सम्बोधन गरेपछि सोडारीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका सोडारीले विश्वासको मत नपाउने देखेपछि प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।
सोडारीले १०५ दिन सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन् । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै टिप्पणी गर्ने नेकपा एमालेले नै बजेट पारित गर्न सहयोग नगरेको गुनासो गरे । उनले प्रदेशमा बजेट शून्यताको अवस्था आउनुमा प्रदेश सभाका सबै दल जिम्मेवार रहेको पनि बताएका छन् ।
प्रदेश प्रमुखका कारण कहीँ नभएको जात्रा देखिएको मुख्यमन्त्री सोडारीले टिप्पणी गरेका छन् । ‘सरकारले प्रदेश सभा अन्त्य गरेको पाँच दिनपछि मात्रै प्रदेश प्रमुखले स्वीकृत गर्नुभयो,’ उनले भने, ‘सभा अन्त्य भएको पत्र सँगसँगै अर्को चिठी आयो विशेष अधिवेशनको, यो पटक संसारमै नभएको जात्रा देखियो ।’ प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकार प्रति जनताको विश्वास बढाउन प्रयास गर्ने बताएका छन् ।
