
रामहरि ओझा
साउन १९, डोटी । १०७ दिन मुख्यमन्त्रीको जिम्मेवारी बहन गरेर दीर्घवहादुर सोडारीले शुक्रवार राजीनामा दिएका छन् । सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसद डा तारा जोशीको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
वैशाख ६ गतेदेखि साउन १८ गतेसम्म १०७ दिनको अवधिमा मुख्यमन्त्री सोडारीले ७ पटक मन्त्रीमण्डल हेरफेर गरेका थिए । आफू नियुक्त भएकै दिन वैशाख ६ गते सोडारी मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीको ‘ईन्ट्री’ भएको थियो । चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मुख्यमन्त्री सोडारीले दोस्रो पटक वैशाख १८ गते नागरिक उन्मुक्ति पार्टीकी टिका थापालाई मन्त्री बनाएका थिए । उनले थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिए ।
जेठ २८ गते तेस्रो पटक सोडारीले मन्त्रीमण्डल बिस्तार गर्दै एमाले र माओवादीबाट ३÷३ र र एकीकृत समाजवादीबाट एक मन्त्रीलाई नियुक्त गरे । तीमध्ये दुई मन्त्रीले मात्रै मन्त्रालयको जिम्मेवारी पाए ।

एमालेका सुरेन्द्र पालले आर्थिक मामिला मन्त्रालय र माओवादी केन्द्रका ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र एकीकृत समाजवादी० का माया पन्त बिना विभागीय मन्त्री भएका थिए ।
साबिकका ७ मन्त्रालयलाई फुटाएर १० पुर्याउने गरी सत्ता गठबन्धन दलहरूबिच भएको सहमति अनुसार असार १६ गते १० मन्त्रालय बनाउँदै चौथो पटक मन्त्रीमण्डल हेरफेर भयो । भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरेर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी माओवादी अक्कलबहादुर रावललाई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा नाउपाका कैलाश चौधरीलाई तोकियो ।
सामाजिक विकास मन्त्रालय विभाजन गरेर शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय बनाइयो । शिक्षा, युवा तथा खेलकुद मन्त्री माओवादीकी लक्ष्मी विक र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री माओवादीकै ओमविक्रम भाटलाई तोकिएको थियो ।
यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई विभाजन गरेर तीन वटा मन्त्रालय बनाइयो । जस अन्तर्गत वन वातावरण तथा सहकारी मन्त्रीमा एमालेका वीरबहादुर थापा, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रीमा एकीकृत समाजवादीकी माया पन्त र कृषि तथा भूमि सुधार मन्त्रीमा नागरिक उन्मुक्तिकी टीका थापालाई नियुक्त गरिएको थियो । जेठ २८ मा बिना विभागीय मन्त्री नियुक्त भएका एमाले सांसद हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्रालयको जिम्मेवारी हेरफेर भएको ४ नबित्दै एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री सोडारीले असार ३० गते पाँचौँ पटक मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरे । छैटौँ पटक मन्त्रालयको सङ्ख्या साबिककै ७ कायम राख्दै सोडारीले साउन १० गते जिम्मेवारी हेरफेर गरे ।
सातौँ पटक साउन १३ गते सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टिका थापालाई पदमुक्त गर्दै उनको मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेर मन्त्रीमण्डल हेरफेर गरेका थिए ।
