
साउन २२, बागलुङा । बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० मा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् ।
यस्तै वडा नम्बर ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
