भदौ २, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको उद्घाटन खेलमा आयोजक समेत रहेको नेपालले श्रीलङ्कालाई हराएको हो ।
नेपाल श्रीलङ्कासँग १–० गोलले विजयी भएको छ । नेपालको जितमा नीराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । नीराजनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।
च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
अब नेपालले मङ्गलवार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारत यस च्याम्पियनसिपको साबिक विजेता हो ।