
भदौ ७, डोटी । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) डोटीले नेपाल टेलिकम डोटीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार नेपाल टेलिकमले सेवा सुविधामा गरेको मूल्य वृद्धिको विरोधमा अखिल समाजवादी डोटीले ज्ञापन पत्र बुझाएको हो ।
अखिल समाजवादीका डोटी जिल्ला इन्चार्ज प्रकाश सी र संयोजक टेकेन्द्र बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘विश्वभर सञ्चारमा मूल्य वृद्धि घटे पनि नेपालमा भने टेलिकमले जसरी जनताको ढाड सेक्ने गरी अनावश्यक र अनधिकृत बढाएको शुल्कको घोर भर्त्सना गर्दछौ ।’

साथै अखिल समाजवादीले मूल्य वृद्धि नघटाएमा टेलिकम विरुद्ध चरणबद्ध रूपले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । ‘दैनिक भ्वाइस प्याक, मासिक भ्वाइस प्याक, अनावश्यक रूपले बढाएको शुल्क घटाउन हुन हार्दिक अनुरोध गर्दछौ, ज्ञापन पत्रमा भनिएको छ, यदि समयमै गल्ती सच्याएन भने हाम्रो सङ्गठन जस्तो सुकै कदम चाल्न तयार छ, शुल्क घटेन भने टेलिकम विरुद्ध आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’ नेपाल टेलिकमले केही दिन पहिला मात्रै विभिन्न प्याकहरूको मूल्यमा फेरबदल गरेको थियो ।
