भरत बम
भदौ २०, डोटी । बोगटान फुड्सिल गाउँपालिका-५ धिर्कामाण्डौका विद्यालय र विद्यार्थीलाई शैक्षिक तथा सांस्कृतिक सामग्री वितरण गरिएको छ । बुधवार युनाइटेड मिसन टु नेपाल तथा समान पहुँच विकास केन्द्र (सिड) नेपालको संयुक्त साझेदारी र वडा कार्यालयको समन्वयमा ६ वटा विद्यालय र १८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालबालिका उत्थानशील विकास परियोजना अन्तरगत दर्जाकोट माद्यामिक विद्यालय, मोहन्याल, नवज्योति, दिर्घेस्वरी, उवादेउ, र भीष्म आधारभूत विद्यालयलाई र १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री र पाँच ओटा बाल क्लबलाई सांस्कृतिक सामग्री वितरण गरिएको परियोजना सामाजिक परिचालक अनिल बमले बताएका छन् । विद्यालयलाई शैक्षिक सिकाई सामग्री, दस बालक र आठ बालिका गरी १८ जना बालबालिकालाई प्रति एक जना एक थान स्कुल झोला, ३ दर्जन कापी, ३ पकेट डट पेन तथा विद्यालय पोसाक र प्रति एक बाल क्लबलाई २/२ थान सांस्कृतिक पोसाक (दाउरा, सुरुवाल, गुन्यु चोली र ढाँक टोपी) र १/१ थान भलिबल, नेट र पम्प गरी एक लाख ३२ हजार बराबरको सामग्री वितरण गरिएको बमले बताए ।
सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष राम बहादुर बोहरा, कार्यपालिका सदस्य ममता रावल, वडा सदस्यहरू, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो ।