भदौ २१, काठमाडौं । मोटरसाइकल चोरी गर्नेहरुले अर्कै नम्बर नम्बर राखेर चलाउने गरेको नयाँ होइन । तर मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिले आफ्नो सवारीको नम्बरलाई अरु चार वटा चोरीको बाइकमा प्रयोग गरेको खुलेको छ । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन्
ट्राफिक प्रहरीले से ७ प ८५६२ नम्बरको बुलेट बाइक चलाइरहेका अछामका २८ वर्षीय हिमाल खत्रीलाई बिहीबार मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनको यो बाइक नेपालमा दर्ता नै नभएको खुल्यो ।
त्यसपछि चोरीको आशंकामा थप अनुसन्धान बढायो । त्यसक्रममा मध्यबानेश्वर बस्दै आएका अछामकै २५ वर्षीय प्रमोद कुँवर से ७ प ८५६२ नम्बरको ३५० मोटरसाइकलसहित पक्राउ परे । उनले प्रयोग गरेको यो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेछ ।
२८ साउनमा रानीबारीबाट हराएको भनेर रुपन्देहीका अनुज पाण्डेले ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । चोरीको मोटरसाइकल चढेको खुलेपछि प्रहरीले उनलाई थप केरकार गर्यो । उनले से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल रहेको बताए । उनकै सूचनाका आधारमा छाउनीबाट अर्को मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वीराज खड्काले जानकारी दिए ।
त्यो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ हरेछ । र, काँडाघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको यो मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।
ट्राफिक प्रहरीले कुँवरलाई थप कारबाहीका लागि प्रहरी वृत्त लैनचौरमा बुझायो । प्रवक्ता खड्काका अनुसार नेपालमा दर्ता नै नभएको मोटरसाइकल चलाएका खत्रीलाई भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइयो ।
तर अनुसन्धानका क्रममा उनले से ७ प ८५६२ नम्बरको अर्को मोटरसाइकल पनि रहेको खुल्यो । से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल करिव एकमहिना अगाडि बेबारिसे अवस्थामा भेटिएको रहेछ ।
अनुसन्धानका क्रममा यो मोटरसाइकलको बास्तबिक नम्बर बा.प्र.०२–०२२ प ५०७८ भएको भएको खुल्यो । बागबजारका हितेश तण्डुकारले सिफल एरियाबाट आफ्नो हराएको भनी ट्राफिक प्रहरीमा निबेदन दिएका रहेछन् ।
एकपछि अर्को मोटरसाइकल एउटै नम्बरको भेटिएपछि प्रहरीले से ७ प ८५६२ नम्बरको मोटरसाइकल कसको रहेछ भने खोज्यो । त्यसक्रममा अछामका हिमाल खत्रीको भएको देखियो, जो बानेश्वरबाट बिहीबार पक्राउ परेका थिए ।
उनले आफ्नो मोटरसाइकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरेर अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।