भदौ २१, डोटी । शङ्कास्पद मृत फेला परेका ७५ वर्षीय वृद्ध कालु सिंह बिस्टको शव आफन्तले बुझेका छैनन् । बिहिवार बिहान दिपायल सिलगढी नगरपालिका–६ सिलगढी जिप्रका नजिकै रहेको आफ्नै घरमा बाहिरबाट ताला लगाई भित्र मृत भेटिएका विष्टको शव आफन्तले नबुझेका हुन् ।
बिस्टको स्वाभाविक मृत्यु नभई हत्या भएको आफन्तले दाबी गरेका छन् । बाहिरबाट ताला लगाएको अवस्थामा शव भेटिएकाले हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका छोरीज्वाई नारायण धामीले बताए । उनले, ‘कोठा भित्र शव छ अनि बाहिरबाट ताला लगाइएको छ यस्तो स्वाभाविक मृत्यु हुनै सक्दैन, उहाँको शरीरमा पनि चोटपटकको निशानहरू छन् ।’
३ दिन देखी हराएका विष्टको शव खोज तलास गर्ने क्रममा बिहिवार घर भित्र कोठामा फेला परेको थियो । सो घरमा केही भाडामा बस्नेहरू बाहेक विष्ट एक्लै बस्दै आएका थिए । उनको शव घरको सबै भन्दा माथिल्लो कोठामा फेला परेको थियो ।
शवको पोस्टमार्टम भइसकेको भए पनि आफन्तले नबुझेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा डिएसपी भिमलाल भट्टराईले जानकारी दिए । प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी भट्टराईले बताए । विष्टको शव जिल्ला अस्पतालको शव गृहमा छ ।