
सुबास नेपाली
असोज २, डोटी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको डोटी शाखाले शैलेश्वरी क्षेत्र विकास समिति डोटीलाई फलामे र्याकहरु हस्तान्तरण गरेको छ। संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत तीन वटा जुत्ता चप्पल राख्ने फलामका र्याक दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले शैलेश्वरीका पुजारी राजेश भट्टलाई हस्तान्तरण गरेका हुन्।
मन्दिर क्षेत्रको सरसफाइ र जुत्ता चप्पल राख्ने ठाउँ नहुँदा जताततै जुत्ता चप्पल राख्नाले मन्दिरको अशोभनीय हुने भएका कारण संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत र्याकहरु सहयोग गरेको शाखा प्रमुख राजन केसीले बताए।

हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीय कार्यालयका प्रबन्धक उमेश कुमार भण्डारीले संस्थाले वित्तीय कारोबारका साथसाथै सामाजिक कार्यहरूमा पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
सामाजिक कार्यहरूमा वडा सँग सँगै सहकार्य गरी समाज विकासमा इँटा थप्ने कार्य गरेको प्रति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै अझ हातेमालो गरेर अघि बढ्न इच्छुक रहेको वडा नं ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासी, क्षेत्रीय कार्यालयका प्रबन्धक उमेश कुमार भण्डारी, संस्थाका विभिन्न समूहका प्रमुख तथा प्रतिनिधि, शैलेश्वरी क्षेत्र विकास समितिका पदाधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
