असोज २, डोटी । संविधान दिवस, २०८१ को अवसर पारी डोटीका दुई सामुदायिक विद्यालयका बिद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ । डोटी जिल्लामा दुई सामुदायिक विद्यालयहरुबीच अन्तरक्रिया भएको सम्भवतः यो पहिलो घटना हो ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरू र सोही नगरपालिकाको वडा नं। ९ मा रहेको तेडी आधारभूत विद्यालयका बिद्यार्थीहरुबीच संविधानमा बालबालिकाको हक, बालविवाह र जातीय छुवाछुतका विषयमा अन्तरक्रिया भएको हो । राष्ट्रिय शिक्षा दिवस र संविधान दिवसको अवसर पारी पद्म पब्लिक माविका विद्यार्थीहरू तेडी मावि पुगेका थिए ।
अन्तरक्रियामा संविधानका विशेषताहरू, संविधानमा बालबालिकाकासंग सम्बन्धी हक अधिकारहरू, बालविवाह सम्बन्धी कानुनी व्यवस्था र बालविवाह रोक्न बालबालिकाहरूको भूमिका र जातीय छुवाछुत तथा विभेद सम्बन्धी वर्तमान अवस्था र कानुनी व्यवस्थाको विषयमा छलफल भएको पद्म पब्लिक माविका विद्यार्थी तपेश बोगटीले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा कानुन संकायको कक्षा १२ का विद्यार्थीहरू भरतसिं ठकुल्ला, दिपा कुँवर, श्रीया बोगटी र बोधनारायण जेठाराले सहजीकरण गरेको उनले बताए ।
अन्तरक्रिया कार्यक्रमले बालबालिकाहरूलाई कानुन सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएको दिपायल सिलगढी नगरपालिका–९ का वडाध्यक्ष तथा तेडी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हर्कसिं साउँदले बताए । उनले डोटीका लागि यो नौलो सुरुवात भएको बताए । ‘कानुनका विद्यार्थीहरू र हाम्रो वडाका बिद्यार्थीहरुबीच राम्रो अन्तरक्रिया भएको छ’ वडाध्यक्ष साउँदले भने ‘यसले बालविवाहलाई न्यून गर्न सहयोग पुग्नेछ भन्ने विश्वास गरेको छु ।’
तेडी माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर विष्टले यस्ता कार्यक्रमहरू बेलाबेलामा आयोजना गर्न पद्म पब्लिक माविलाई आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रमबाट आफूहरूले बाल अधिकारका सम्बन्धमा संविधान र कानुनमा भएका व्यवस्थाहरू, बालविवाह विरुद्ध तथा जातीय विभेद विरुद्धको कानुनी व्यवस्था र यसले गर्ने असरहरूको विषयमा थाह पाएको तेडी माविकी छात्रा जानकी नेपालीले बताइन् ।