सेती प्राविधिक शिक्षालय : सधैँ किन भइरहन्छ विवाद ?

रामहरि ओझा
असोज ३, डोटी । ‘सर, सेती प्राविधिक शिक्षालयमा हाम्रा छोराछोरीको जीवनमाथि नै खेलबाड हुन थाल्यो, एक पटक यस विषयमा ध्यान दिनु पर्‍यो । शिक्षालयले कक्षाको रुटिन समेत सार्वजनिक नगर्ने रहेछ,’ दिपायल सिलगढी नगरपालिकाका एक अभिभावकले फोनमार्फत यो सूचना दिए ।

उनको भनाई अनुसार शिक्षालयमा कुन शिक्षकले, कुन विषय, कति बेला पढाउने भन्ने रुटिन हुँदैन । ‘शिक्षक र विद्यार्थीहरूको फेसबुक म्यासेन्जर ग्रुप बनाएको छ रे, शिक्षकलाई जति बेला पढाउने मन लाग्यो त्यति बेला भोली यो क्लास हुन्छ भनेर हाल्छन् रे’ ती अभिभावकले भने ‘भोलीपल्ट शिक्षालय जाँदा पढाई हुँदैन ।’

उनी आफूले छोरालाई किन त्यता भर्ना गरेँ हुँला भन्ने पछुतो भइरहेको समेत बताए । यस्तो गुनासो पोख्ने उनी एक्ला भने होइनन्, अन्य अभिभावकहरूले पनि यस्ता गुनासाहरू ल्याए ।

केही दिनअघि शिक्षालयको क्यान्टिनको विषयमा भएको विवादमा सञ्चारमाध्यमहरूले स्थान पायो । त्यसअघि मदिरा सेवन गरी शिक्षालयका प्रशिक्षकहरूले डेरामा बसेका विद्यार्थीहरूलाई उनकै डेरामा गएर कुटेको विवाद पनि सार्वजनिक भयो ।

कहिले विद्यार्थी भर्नाको विषय, कहिले प्रशिक्षक-कर्मचारी भर्नाको विषय, कहिले शिक्षालयका संरचनाहरू मर्मत गर्ने नाममा हुने अनियमितताका विषयले बेलाबेलामा बजार पाइरहेको हुन्छ ।

के हो सेती प्राविधिक शिक्षालय ?

दिपायल सिलगढी नगर-पालिका-४ मा रहेको सेती प्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित सुदूरपश्चिम प्रदेशकै सबैभन्दा पुरानो शिक्षालय हो ।

२०४६ सालमा स्थापना भएको यस शिक्षालयमा प्रि-डिप्लोमा तहका दुई शैक्षिक कार्यक्रम (बाली विज्ञान र पशु विज्ञान) र डिप्लोमा तहमा बाली विज्ञान, फार्मेसी, पशु विज्ञान र सिभिल ईन्जिनियरिङ्गको अध्ययन/अध्यापन भइरहेको शिक्षालय प्रमुख सुशीला शर्मा बताउँछिन् । उनका अनुसार हाल ५ सय ४० विद्यार्थी अध्ययनरत छन् ।

नयाँ शैक्षिक सत्रमा भनाई भइरहेको विद्यार्थी बाहेक हाल उक्त शिक्षालयमा यस शैक्षिक सत्रदेखि स्वास्थ्य सहायक (एचए) को पनि पढाई हुने शर्माले बताइन् ।

किन भइरहन्छ विवाद ?

शिक्षालयमा विवाद हुनुको मुख्य कारण त्यहाँ कार्यरत कर्मचारीहरूबिचको गुटबन्दी रहेको अभिभावकहरूको बुझाई छ । ‘विद्यार्थीहरूले केही भन्यो भने शिक्षकहरू नै कोठामै गएर विद्यार्थीलाई कुटेर आउँछन् रे’ एक अभिभावकले भने ‘त्यसैले बोल्न पनि गा¥हो छ तर यो विवादको मुख्य जरो शिक्षक कर्मचारीहरू नै हुन् ।’

उनले योग्यता क्षमताले भन्दा पनि राजनीतिक सोर्सफोर्सका आधारमा भर्ना भएका कर्मचारीहरू शिक्षालयमा बढी भएको बताए । सेती प्राविधिक शिक्षालय प्रवीणता तहको जनशक्ति उत्पादनका लागि सुदूरपश्चिममै उत्कृष्ट संस्थाको रूपमा मानिन्छ तर बेलाबेलामा आउने यस्ता विवादहरूले शिक्षालयको छवि धमिलिएको स्थानीयको बुझाई छ ।

‘शिक्षालयमा पहिलेदेखि नै अनेक प्रकारका विवादहरू आउने गरेका छन्, विद्यार्थी भर्नादेखि कर्मचारी भर्नासम्मका विवाद आउँछन्’ दिपायल सिलगढी नगरपालिकाका पूर्व उपप्रमुख समेत रहेका स्थानीय प्रेमबहादुर शाह भन्छन्, ‘व्यक्तिगत र दलगत स्वार्थका लागि राजनीतिक हस्तक्षेप बढी हुने गरेको भन्ने गुनासाहरू मैले पनि बेलाबेलामा सुन्ने गरेको छु, वास्तविकता के हो, थाह भएन ।’

डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका स्थानीय व्यवसायी नरेन्द्र खड्का शिक्षालयभित्रको विवादको मुख्य विषय त्यहाँभित्रका कर्मचारीहरू नै भएको बताउँछन् । ‘विवाद कर्मचारीहरू भित्रैको हो जस्तो लाग्छ’ उनी भन्छन् ‘शिक्षालय सुधार्ने हो भने कर्मचारीहरू आफै सुध्रिनु जरुरी छ ।’

उनी कर्मचारीहरूले शिक्षालय प्रमुखलाई अनावश्यक घेराबन्दीमा गर्ने गरेको आफूले सुनेको बताउँछन् । उनी थप्छन् ‘सानातिना मर्मतका कार्यहरू पनि राजनीतिक पहुँचका आधारमा बाँडिने हो भने विवाद त आइहाल्छ नि !’

शिक्षालयभित्र प्रशासनिक कर्मचारी र शिक्षकहरुबीच, स्थायी र अस्थायी कर्मचारीहरुबीच विवाद भइरहने गरेको शिक्षालयका एक कर्मचारी बताउँछन् ।

‘हुन त म यसै शिक्षालयको कर्मचारी हो, यस्तो कुरा भन्न नहुने हो तर यहाँको मुख्य समस्या शिक्षालय भित्र भएको सानोतिनो विवाद समेत शिक्षक–कर्मचारीहरूले भट्टी पसलमा पुर्‍याउँछन्’ ती कर्मचारीले भने ‘शिक्षालयको विषयमा अनेक कुरा लाएर स्थानीयलाई भड्काउने पनि यिनै शिक्षक–कर्मचारीहरू हुन् ।’

उनले आफूले शिक्षालयमा काम गर्दाको अवधिमा कुनै पनि शिक्षालय प्रमुख विवादरहित भएर गएको नदेखेको बताए । उनी थप्छन् ‘जति आउँछन्, त्यति विवादित हुन्छन्, के उनीहरू सबै खराब होलान् र ?’

उनी नेताहरूले पनि अनावश्यक हस्तक्षेप गर्ने गरेको बताउँछन् । शिक्षालय प्रमुखले त्यस्ता कर्मचारीहरूमाथि कारबाही गर्ने प्रक्रिया अगाडि बढाए नेताहरूले फोन गरेर धम्की दिने गरेको ती कर्मचारीको भनाई छ । शिक्षालय सुधार्नु छ भने कर्मचारीहरूलाई तह लगाउनु आवश्यक भएको उनले बताए ।

विद्यालयको गेटमै मदिरा बिक्री हुने गरेको, वरपर गाँजा चरेस सेवन तथा बिक्री वितरण हुने गरेको विद्यार्थीहरूको दुखेसो छ ।

‘हुन त यस शिक्षालयको सञ्चालक समिति संयोजक प्रमुख जिल्ला अधिकारी हुन्छन् भन्ने सुनेको छु’ एक विद्यार्थीले भने ‘तर शिक्षालयको दुरावस्थाको बारेमा कसैलाई चासो छैन ।’

शिक्षालय प्रमुख भन्छिन्- शिक्षालयको हित विपरीत हुने गरी कुनै काम हुन दिन्न

आफू फागुनदेखि शिक्षालय प्रमुख भएर आएको र शिक्षालयलाई राम्रो बनाउने प्रयासमा रहेको बताउँछिन् शिक्षालय प्रमुख सुशीला शर्मा ।

‘मलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले जिम्मेवारी दिएर पठाएको हो, यसलाई राम्रोसँग सञ्चालन गर्नु मेरो जिम्मेवारी हो’ शर्माले भनिन् ‘कुनै व्यक्ति विशेषको फाइदाका लागि शिक्षालयको अहित हुने गरी काम गर्दैन ।’

उनले आफू कानुन मिचेर कुनै काम नगर्ने र त्यस्तो काम गर्न दबाब आए आफू सरुवा भएर जाने बताइन् । क्यान्टिनको विषयमा बाहिर आएको विवादमा उनले नियम अनुसार जे गर्नु पर्ने थियो, सोही भएको छ ।’

शिक्षालयको छात्र बासमा बस्ने विद्यार्थीहरुलाई मासिक खाना खुवाउने गरी पहिलेदेखि नै एउटा भवन भाडामा दिएर बाह्य मान्छेले क्यान्टिन चलाउने गरेकोमा विद्यार्थीहरुले खानाको गुणस्तरको विषयमा गुनासो गरेपछि क्यान्टिन भाडामा दिन नयाँ प्रक्रिया सुरु गरेको उनी बताउँछिन् ।

कानुन अनुसार सार्वजनिक सूचना जारी गरी आएका सिलबन्दी दर भाउपत्रहरु–लाई असार २० गते दरभाउ पत्र दाताका प्रतिनिधिहरुको रोहवरमा खोलिएको र सबै दरभाउ पत्र दाताको दररेट जुधेपछि उनीबीच कसैको नाममा पनि सहमति जुट्न नसक्दा छनौट समितिले उक्त प्रक्रिया रद्द गरेको शर्माको भनाई छ ।

उनी भन्छिन् ‘अहिले हामी विद्यार्थी भर्ना र वार्षिक परीक्षाको काममा व्यस्त छौँ, यो काम सकिने बित्तिकै नयाँ प्रक्रिया सुरु गर्छौँ ।’

पढाइको रुटिनको विषयमा उनले भनिन् ‘पहिलेदेखि चलिरहेका कक्षाहरू रुटिन अनुसार नै चलिरहेका छन् । नयाँ भर्ना भइरहेका कक्षाहरूमा त्यो समस्या भएको हो ।’

एकातिर भवनको अभाव, अर्कोतिर वार्षिक परीक्षा सञ्चालन गर्नु पर्ने भएका कारण केही समस्या आएको हो उनको भनाई छ । उनी थप्छिन् ‘त्यसै पनि विद्यार्थीहरु भर्ना भइरहेकै छन्, अहिले नै कोर्स अगाडि बढाउने हो भने नयाँ विद्यार्थीहरुको पडाई छुट्छ ।’

समस्या एकातिर, विवाद अर्कैतिर

बाहिर आउने विवाद र शिक्षालयका वास्तविक समस्या नितान्त फरक छन् । ‘२०४६ सालमा बनेका भवनहरू जीर्ण भएका छन् । पानी परेको दिन पठन पाठन बन्द गर्नु पर्ने अवस्था छ’ शर्मा भन्छिन् ‘भवन नथपिएका तर तिनै भवनमा शैक्षिक कार्यक्रमहरू थपिएका छन् ।’ शैक्षिक कार्यक्रम अनुसार आवश्यक पूर्वाधारहरू निर्माण हुनु पर्ने उनको भनाई छ ।

उनले शिक्षालयमा उपसचिवस्तरको प्रमुख, उपप्रमुख र विभिन्न पदका प्रशिक्षक र कर्मचारी गरी ५९ जनाको स्वीकृत दरबन्दी भए पनि स्थायी कर्मचारीहरू पाँच जना मात्रै रहेको बताइन् । हाल स्थायी, करार र ज्यालादारी गरी ४९ जना मात्रै कार्यरत रहेको उनको भनाई छ ।

शिक्षालयमा दरबन्दी भएका ९/१० जना कर्मचारीहरू अन्यत्रै काजमा रहेको उनले जानकारी दिइन् । विद्यार्थीहरु घट्नु शिक्षालयका लागि अर्को चुनौती चुनौतीको विषय छ ।

शिक्षालयका प्रशिक्षक तीर्थराज अवस्थी भन्छन् ‘पाँच सय ४० जनाको कोटामा दुई हजार बन्दा बढी विद्यार्थीका आवेदन पर्थे पहिले, अचेल कोटा पनि पुगेको छैन ।’ उनी संरचना र जनशक्ति व्यवस्थापनमा ध्यान जानु आवश्यक रहेको बताउँछन् ।

Sayalb
Shaileshwori
Loading...