किरण धामी
६ असोज, सिलगढी । डोटीको दिपायलका चार जना युवाहरूले व्यावसायिक हल्दी (बेसार) खेती सुरु गरेका छन् । युवाहरू तेज द्वारिया, कैलाश खड्का, दीपक शाहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसार खेती सुरु गरेका छन् ।
वर्षौँदेखि बाझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाहरूले यो वर्ष देखी व्यावसायिक बेसार खेती सुरु गरेका हुन् । चारै जना युवाहरू अन्य पेसामा पनि आबद्ध छन् । पेसाले द्वारीया शिक्षक, दीपक र कैलाश इलेक्ट्रीसियन तथा शैलेन्द्र उद्योगी हो ।
प्रायः आफ्नै काममा व्यस्त हुने उहाँहरूको एक दिन चिया गफका क्रममा व्यावसायिक रूपमा बेसार खेती गर्ने योजना बन्यो । योजना अनुसार उहाँहरूलाई बेसार खेतीका लागि जमिनको समस्या थिएन र बिउँको खोजी भयो । जिल्लामा आवश्यक बिउँ पाइने स्थिति नभएपछि सल्यान जिल्लाबाट ल्याएको शैलेन्द्र खड्काले बताउनुभयो । अनलाइनको माध्यमको प्रयोगबाट एक लाख रुपैयाँ बराबरको साढे १३ क्विन्टल बिउँ ल्याएर रोपिएको उहाँले बताउनुभयो ।
चारै जना दिनभरि आ–आफ्नै काममा व्यस्त हुने भएकाले साँझ र बिहानको समयमा जमिनको खनजोत भयो र बेसार रोपियो । अहिले बेसार रोपेको चार महिना पुरा भयो । एक पटक बेसारको गोडमेल पनि भइसकेको छ ।
अहिले बेसारको बजारको खोजी भइरहेको छ । बेसार बिक्रीको लागि केहीसँग सामान्य कुरो भए पनि ठोस निर्णय भई नसकेको शैलेन्द्र खड्काको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले पहिलो चरणमा साथीहरूका बिचमा बिउँका लागि बिक्री गरिदिने भन्ने कुरा चलेको छ तर फिक्स कुरा कसैसँग भएको छैन, हामीले विकल्पको रूपमा ब्राण्डीङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।’
उहाँहरूले बेसारलाई मात्रै होइन हल्दिको पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाउनु भएको छ । खड्काले भन्नुभयो, ‘यसको सबै कुरा बिक्री गर्ने सोचमा छौ, हल्दीको पात यत्तिकै खेर जान्छ तर पातलाई खेर जान नदिएर टपरी बनाएर बिक्री गर्ने छौ ।’ बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने खड्काको भनाई छ ।
बेसारको राम्रो उत्पादन भएर उत्पादित बेसारले बजार पाएको खण्डमा खेतीलाई बिस्तार गर्ने युवाहरुको सोच छ । अपेक्षा गरे अनुसार लाभ प्राप्त भएमा करिब ५० रोपनीमा खेती बिस्तार गरिने कृषक तेज द्वारीयाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले खेती गरेको वरपरको ३०/३५ रोपनी जमिन खालि नै छ, त्यो जमिनवालाहरूले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो लाभ मिलेमा अर्को वर्ष ५० रोपनी भन्दा माथि जमिनमा बेसार रोप्छौ ।’
बेसार खेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को अदुवा तथा बेसार खेती क्षेत्र विस्तार कार्यक्रम अन्तरगत ज्ञान केन्द्रले बिउँ खरिदका लागि ५० प्रतिशत सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । डोटी जिल्लाका तीन ओटा पालिका जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्रै सीमित रहेको मसलादार खेती अन्य पालिकामा बिस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरेको अवस्थीले बताउनुभयो ।