
बिचौलियाहरू संसद् र सरकारमा रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले बताएका छन् । प्रदेश सभामा सम्बोधनका क्रममा सरकारका योजनाहरू उपभोक्ताबाट नभई ठेक्का मार्फत गर्ने निर्णयका विपक्षमा बोल्दै डोटीबाट निर्वाचित सांसद मल्लले बिचौलिया मौलाएको हबला दिँदै योजनाको काम उपभोक्तालाई गर्न नदिने सरकारको निर्णय कानुन विपरीत भएको दाबी गरे । उनले भने ‘योजना सरकार र सांसदले हाल्ने बिचौलियाको हालीमुहाली भयो भन्ने ? छन् भने बिचौलिया यही संसद् र सरकार भित्र यहीँ छन् जसलाई योजना हाल्ने अधिकार छ उनीहरू भित्रै समस्या छ, बजेट हाल्नेहरू बिचौलिया बाट अलग भए भने समस्या हुन्छ र ? चौतारोमा बाटो खोजेर बिचौलिया भेटिनन् बिचौलिया यहीँ छन् ।’ बिचौलियाको हबला दिँदै यस्तो निर्णय गर्न मिल्दैन ।
प्रदेश सरकारले कार्यान्वयन गर्ने योजनाहरू उपभोक्ता मार्फत नभई ठेक्का मार्फत काम गर्ने प्रदेश सरकारले यस अघि निर्णय गर्दै मुख्यमन्त्री कमल शाहले विज्ञप्ति जारी गरेका थिए । खरिद ऐनले एक करोड भन्दा मुनीका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्न सक्ने व्यवस्था रहेको छ । प्रदेश सरकारले गरेको निर्णय खरिद ऐन सँग बाँझीएको छ ।

सत्ता पक्षका सांसद मल्लले आर्थिक वर्ष ०८१/०८२ को बजेटको छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रमुख सत्ता साझेदार दल एमालेका सचेतक समेत रहेका मल्लले भने ‘योजना माग गर्नका लागी मन्त्रीका खुट्टा छोएको छु क– कस्का खुट्टा छोएको हुँ यही संसद्मा भन्नु पर्ने हो र ? सरकारमा भएकाले दिने सांसदहरू मगन्ते जस्तो कहिलेसम्म हुने ? हामी सरकार पक्षका सांसद आफ्नै गोरुले मारे जस्तो भएका छौँ हामीलाई बजेट प्रति खुला दिलले समर्थन गर्ने बाताबरण छैन ।’
आफूहरूले माग गरेका योजनाहरू नपरेको भन्दै मल्लले असन्तुष्टि व्यक्त गरेका हुन । मल्लले भने ‘भूकम्प पीडितका लागी बजेट छुट्टाउन त्यत्रो माग गरियो तर १०/१५ लाख हाल्ने काम भयो तर व्यक्तिगत सडकमा करोड रुपैयाँ छुट्टाउने काम भएको छ ।
