असोज ६, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले टिकापुर विज्ञान तथा प्राविधिक विश्व विद्यालयको लागि विनियोजन गरेको बजेटमा प्रदेश सांसद शिव सिंह ओलीले आपत्ति जनाएका छन् । सुदूरपश्चिम प्राविधिक विश्व विद्यालयको स्थापनाको लागि दुई ओटा समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएको अवस्थामा टिकापुर विज्ञान तथा प्राविधिक विश्व विद्यालयको लागि रु ५ करोड विनियोजन भएकोमा सांसद ओलीले आपत्ति जनाए ।
बजेटमाथिको छलफलका क्रममा आइतबार सांसद ओलीले अध्ययन समितिले प्रदेश सभामा पेस गरेका प्रतिवेदनमा छलफल अगाडी बढ्न नसकेको अवस्था कसरी बजेट विनियोजन भयो भन्दै प्रश्न गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले झेली गरेको आरोप लगाए । ‘प्राविधिक विश्व विद्यालय खोल्न आवश्यक हो तर कहाँ खोल्ने हो ? यसका आधार के के हुन् ?, यो कसरी अगाडी बढ्छ ?, वित्तीय व्यवस्थापन के हो ? भन्ने कुरा यकिन नभएर आज एकाएक तपाइले टिकापुरमा बजेट विनियोजन गर्नुको अर्थ के हो ?, सांसद ओलीले भने, यसरी झुक्क्याएर, ठगेर यति ठुलो संस्थालाई एक पच्छिए रूपमा अगाडी बढाउने हो भने यसमा सहमति हुन सक्दैन ।’
राजनीतिक पहुँचका आधारमा डोटीको दिपायलबाट क्षेत्रीय राजधानी कैलाली सारिँदा क्षेत्रीय स्तरका कार्यालय, निर्देशनालयहरू दिपायलबाट नसार्ने सर्त भएको बताउँदै ओलीले सो सर्तको आधारमा प्राविधिक विश्व विद्यालय दिपायल बनाउनु पर्नेमा जोड दिए ।