डोटीका मुकुन्दको लोभ लाग्दो तरकारी खेती, दिनको ८ देखी १० हजार कमाई (भिडियो सामग्रीसहित)

असोज ८, डोटी । रोजगारीको खोजीमा युवाहरू बिदेसिने क्रम बढ्दो छ । छिमेकी देश भारतमा मात्रै नभएर तेस्रो मुलुकहरूमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा शक्ति बिदेसिने गरेको छ ।

त्यही हजारौँमा एक बन्ने चाहाना थियो डोटीको आदर्श गाउँपालिका–१ का २३ वर्षीय मुकुन्द अवस्थीको । तिन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाई हुने देशमा जाने मुकुन्दको चाहाना थियो । तर विदेश जाने योजना स्थगित गरेर आदर्श गाउँपालिका–१ चाँसीमा व्यावसायिक तरकारी खेती गरेर मुकुन्दले मनग्य आम्दानी लिन थाल्नु भएको छ ।

‘‘अहिलेको ट्रेन्ड भनौँ वा बाध्यता सबै जना बिदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनु पर्छ भन्ने मेरो पनि सोच थियो कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिए तर लगडाउन भएपछि घर आए त्यसपछि बाझो जमिनमा खेती गर्न थाले’’ मुकुन्दले सुरुवाती कुरा सुनाए ।

हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा ठुलो मात्रामा तरकारी खेती गरिरहेका छन् । मुकुन्दले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २५ ओटा प्लास्टिक घर (टर्नेल) बनाएर तरकारी खेती गरेका छन् । सबै टर्नेलमा अहिले टमाटर फलिरहेको छ । सुरुवातमा गाउँपालिकाबाट प्राप्त भएको एक लाख ५० हजार रुपैयाँ अनुदान र बाँकी आफ्नो लगानीमा दश टर्नेलबाट तरकारी उत्पादन सुरु भयो ।

गत वर्ष दश ओटा टर्नेलमा उत्पादन भएको करिब ९ लाख बराबरको तरकारी बिक्री गरेको मुकुन्दले बताए । पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब ३ लाख जति आम्दानी भएको मुकुन्दले सुनाए । यो वर्ष २५ ओटा टर्नेलमा तरकारी खेती गरिएकाले कारोबार दोब्बरले बढ्ने उनको अनुमान छ ।

Sayalb

मुकुन्दको बारीबाट हाल दैनिक ८ देखी १० क्रेट टमाटर बजार जान्छ । प्रति किलो ५० रुपैयाँका दरले टमाटर बजारमा बिक्री हुँदा मुकुन्दको दैनिक ८ देखी १० हजार कमाइ हुन्छ । टमाटरले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा पर निर्भर थियो सुरुमा उत्पादित तरकारीलाई बिक्री गर्न धेरै मिहिनेत गर्नु प¥यो तर अहिले माग धान्न सहिरहेको छैन, दैनिक डेढ देखि दुई क्विन्टल बजारमा जान्छ मूल्य पनि राम्रो छ ।’’

फर्ममा फल्ने तरकारीमा प्रविधिको प्रयोग गरिएको छ । टर्नेलमा मञ्चिङ प्रविधिका साथै थोपा सिचाई प्रविधिको प्रयोग भएको छ । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल नै पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु हुने तयारी छ ।

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन ५ जनाले रोजगारी समेत पाएका छन् । यो वर्ष २५ टर्नेललाई बढाएर ५० पु¥याउने योजना मुकुन्दको छ । तर उत्पादित तरकारी बजार पु¥याउन भने केही सकस हुने गरेको छ । दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध भइरहने भएकाले पिठ्युँमा बोकेर बजार पु¥याउनु पर्ने बाध्यता रहेको उनले दुखेसो पोखे ।

उनले मुख्य रूपमा टमाटर, बन्दा, काउली, खुर्सानी फलाउने गरेका छन् । मुकुन्दलाई कृषि ज्ञान केन्द्र डोटीले पनि ठुलो मात्रामा सहयोग गरेको छ । बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिचाई, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । छोटो समयमै सफल बन्न सफल मुकुन्द युवाहरूको लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए । स्वदेशमै समृद्धि रहेको र परिवारसँगै बसेर कृषि क्रान्ति गर्ने वातावरण बनाई मनग्य आम्दानी लिन र कार्यालयबाट हुने सहयोगमा कमी हुन नदिने भन्दै विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन अवस्थीले अपिल गरे ।

भदौ २६ गते देखी २८ गतेसम्मको अविरल वर्षाले गर्दा सडक अवरुद्ध हुँदा किसानलाई उत्पादित तरकारी बजारमा पु¥याउन समस्या भएको छ । किसानका समस्यालाई मध्यनजर गर्दै अवरुद्ध सडक दुई चार दिनभित्रै खुलाउने प्रयासमा स्थानीय सरकार लागिपरेको वडा अध्यक्ष भरत खड्काले बताएका छन् ।

 

Shaileshwori
Loading...