असोज १३, काठमाडौं। अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध सुरु भएको छ । १० असोजदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुनेले २ हजार शुल्क उठाइएको छ । प्रतिनिधि शुल्क २ हजार हुन नहुने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको केन्द्रीय सदस्य ममता अधिकारीले जानकारी गराइन् ।
हालसम्म ९ सय बढीले शुल्क घटाउने पक्षमा हस्ताक्षर गरेको विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । सम्मेलनका लागि २३२३ प्रतिनिधि कायम भएका थिए । शुल्क घटाउनुपर्ने माग गर्नेले न्युनतम पाँच सय हुनुपर्ने मत राखेका छन्। सम्मेलन लम्बिएका कारणले बसाई खर्च बढेकाले घटाउनुपर्ने माग राखेको उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए । बस्नका लागि प्रतिनिधि स्वयंले व्यवस्था गर्नुपर्ने संगठनको निर्णय छ ।
‘खानाको ७० प्रतिशत संगठनले बेहोरेको छ । ३० प्रतिशत प्रतिनिधिबाट उठाइएको हो,’ सापकोटाले भने,‘साथीहरुको बसाई लम्बिएकाले शुल्क धेरै भयो भन्ने कुरा उठेको हो ।
पूर्व निर्धारित समय अनुसार १४ असोजमा सम्मेलन सक्ने भनिएको थियो । वर्षात् कारणले शनिबार सम्मेलनको कार्यसूची कार्यान्वयन हुन नसकेपछि निर्वाचन प्रक्रिया तोकिएको समय अनुसार नहुने भएको छ ।