
किरण धामी
कात्तिक ९, डोटी । रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि कृषि प्रदर्शनी मेला कार्यक्रमको सुरुवात गरिएको छ । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा रैथाने बालीको संरक्षणका लागि कृषि प्रदर्शनी मेलाको आयोजना हुँदै आएको छ । युनाइटेड मिसन टु नेपालको सहयोग तथा कृषि शाखा बोगटान फुड्सिल गाउँपालिका, वडा कार्यालयको सहकार्य र समन्वयमा ग्रामीण समुदाय विकास केन्द्र (आरसीडिसि) ले कृषि प्रदर्शनी मेलाको आयोजना गरिरहेको छ ।
संस्थाको दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन (क्लाइमेट) परियोजना अन्तरगत बोगटान फुड्सिल गाउँपालिकामा गत वर्ष बाट कृषि प्रदर्शनी मेलाको आयोजना हुँदै आएको आरसिडिसीले जनाएको छ । परियोजना सञ्चालनमा रहेका वडा सिमचौर, चवराचौतारा र सात्फरीमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि प्रदर्शनी मेलाको आयोजना हुने गरेको आरसिडिसीका प्रशासन तथा लेखा अधिकृत विमलराज जोशीले जानकारी दिए । जोशीका अनुसार गत वर्ष तीन ओटै वडाको संयुक्त रूपमा प्रदर्शनी मेलाको आयोजना गरिएको भए पनि यो वर्ष वडागत रूपमा गरिएको छ । यो वर्ष वडा नम्बर १ सिमचौर र वडा नम्बर ७ चवराचौतारामा प्रदर्शनी मेला सम्पन्न भएको र वडा नम्बर ४ सात्फरीमा छिट्टै सञ्चालन हुने जोशीले बताए ।
‘प्रदर्शनी मेलामा किसानहरूबाट लोप हुन लागेका रैथाने बाली आउने गरेका छन् यो हाम्रो लागि सुखद पक्ष हो, जोशीले भने, त्यस्ता रैथाने बालीको मूल्याङ्कन गरी ६ विधामा किसानलाई पुरस्कार दिनुका साथै त्यस्ता बालीको खेती गर्न हौसला दिने गरेका छौ ।’ प्रदर्शनी मेलामा यो ठाउँबाट करिब लोप भएका कागुनो, गुराउस, सेउणो धान, मार्सो धान, फापर, बेथे, खोयो, पुरानो फर्सी जस्ता बाली फेला परेको जोशीले बताएका छन् ।

रैथाने बाली विभिन्न किसिमले लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षण र प्रवर्द्धन गरी उत्पादन बढाउन किसानलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गर्ने गर्ने गरेको आरसिडिसीका सब इन्जिनियर करन विष्टले बताए । कृषि प्रदर्शनी मेलाले रैथाने बाली संरक्षणमा सहयोग पुग्ने उनले बताए ।
आरसिडिसी संस्था सँग सहकार्य गर्दै रैथाने बाली प्रदर्शनी मेला कार्यक्रममा सहभागी हुन पाएको खुसी लागेको बोगटान फड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताएका छन् । ‘प्रदर्शनी मेलामा हाम्रा पुर्खाले खेती गर्ने र उपभोग गर्ने बालीहरू पनि आएको पाए, अध्यक्ष गड्सिलाले भने, अहिले किसानले फापर, कागुनो, जौ, कोदो जस्ता बालीहरूको खेती गर्न छोडिसकेका छन् तर यी बालीहरूमा पौष्टिक तत्त्व धेरै हुन्छ त्यसैले यस्ता बालीहरूको खेती विस्तार गर्न सुझाव दिन्छु ।’
अध्यक्ष गड्सिलाले रैथाने बालीहरूको खेतीमा बढवा दिन किसानलाई अनुरोध गरेका छन् । पालिकाले रैथाने बालीको संरक्षणमा जोड दिएको हुनाले किसानले उत्पादन गरेको रैथाने कृषि उपजले बजार नपाएमा पालिकाले त्यसको जिम्मा लिने अध्यक्ष गड्सिलाले दाबी गरे । ‘रैथाने बाली तपाईँहरू जति उत्पादन गर्नुहुन्छ सबै बिक्री हुन्छ किन कि रैथाने बालीहरूको बजारमा माग धेरै हुन्छ, अध्यक्ष गड्सिलाले थपे, यदि बिक्री भएन भने पालिकाको कृषि शाखामा ल्याएर आउनुहोला हामी त्यसलाई बजारसम्म पुर्याउने छौँ ।’
चवराचौतारामा रैथाने बाली प्रदर्शनी मेला सम्पन्न
बिहिवार बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारामा रैथाने बाली प्रदर्शन मेला सम्पन्न भएको छ । प्रदर्शनी मेलामा वडा भरका किसानहरूले विभिन्न रैथाने बालीहरूको प्रदर्शन गरेका छन् । प्रदर्शनी मेलामा आएका कृषि उपजहरूको ६ विधामा मूल्याङ्कन गर्दै २५ जनालाई पुरस्कार दिइएको छ । आयोजक आरसिडिसिका अनुसार खाद्यान्न, नगदे, तरकारी, फलफूल, मसला र दलहन बाली गरी ६ विधामा प्रत्येक बालीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २४ जना र एक जना उत्कृष्ट गरी २५ जनालाई पुरस्कार दिइएको छ । पुरस्कार पाएपछि किसानहरूले खुसी व्यक्त गरेका छन् ।
