
कार्तिक २६, डोटी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले सहकारी प्रकरणमा अफवाह फैलाउने कार्य भइरहेको बताएका छन् । नेपाली काँग्रेसको सय दिने विशेष अभियानमा केन्द्रीय प्रतिनिधिका रूपमा डोटी पुगेका केन्द्रीय सदस्य बरालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले सोमबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बरालले सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रबी रामिछाने निर्दोष भए कानुनले स्वतः सफाइ दिने हुँदा अफवाह फैलाउनको साटो कानुनलाई सहयोग गर्दै अनुसन्धान हुन दिन आग्रह गरेका छन् । एमाले तथा काँग्रेसका थुप्रै नेता, कार्यकर्ता विभिन्न प्रकरणमा जेल चलान तथा अनुसन्धानको लागि हिरासतमा बस्नु परेको उदाहरण दिँदै दोषीले सजाय पाउँदा पार्टीले बचाउन खोज्नु राम्रो नभएको नेता बरालले बताए । रास्वपा र रबी समर्थकले सरकारले प्रतिशोध साध्न रबीलाई पक्राउ गरेको भन्दै पोखरामा आन्दोलन गर्दै विभिन्न अफवाह फैलाएको बरालले आरोप लगाएका छन् ।

उनले जनताले गिट्टी कुटेर सहकारीमा जम्मा गरेको पैसा तत्काल फिर्ता गर्नु पर्ने पनि बताएका छन् । उनले भने ,‘गिट्टी कुट्ने ,साग बेच्ने र मकै पोल्ने लगायतका निम्न स्तरका जनताको पैसा सहकारीमा अपचलन हुनु दुःखद कुरा हो । निम्न वर्गका मानिसको पसिनाको कमाई माथि रजाइँ गर्ने जो सुकै पनि कानुन भागेर हुनुपर्दछ ।’
७४ लाख सहकारी पीडितको रकम ठगी प्रकरणमा संलग्न जस्तो सुकै ठुलो व्यक्ति भए पनि कानुनी दायरमा ल्याएर पीडितको रकम फिर्ता गर्नु पर्छ भन्नेमा काँग्रेसको अडान रहेको बताए ।
