
रामहरि ओझा
कात्तिक २७, डोटी । नेकपा एमालेले डोटीको पूर्वीचौकी गाउँ कार्यपालिकाको कार्यालयमा लगाएको ताला सोमवार अबेर राती खुलेको छ । गाउँपालिकाका अध्यक्ष सहितको टोली र एमालेका प्रतिनिधिहरुबीच एको सहमतिपछि उक्त ताला खोलिएको एमालेले जनाएको छ । आइतबार एमालेले पाँच बुँदे माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेको थियो ।
दुई पक्षबिच सहमति भएपछि ताला खोलिएको एमाले डोटी जिल्ला उपसचिव कृष्णकुमार खड्काले जानकारी दिए । उनले गाउँपालिकाले जनतालाई सरल र सहज रूपमा सेवा दिने विषयमा प्रतिबद्धता जनाएपछि आफूहरू ताला खोल्न सहमत भएको बताए ।

सोमवार भएको सहमति अनुसार २०७९ साल कात्तिक २२ गते गएको भूकम्पबाट प्रभावित व्यक्तिहरूको पुनर्स्थापनाका लागि सङ्घ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी चालु आर्थिक वर्षमै पुनर्स्थापनाको काम सम्पन्न गर्ने सहमति भएको छ ।
यस्तै, गाउँपालिकाका कर्मचारीहरूको विवरण एमालेलाई उपलब्ध गराउने, विद्यालयका शिक्षक समायोजनको विषयमा सम्बन्धित वडाका जनप्रतिनिधिहरूले भौगोलिक दुरीको अनुगमन गरी दिएको प्रतिवेदनका आधारमा हेरफेर गर्ने सहमति भएको एमाले पूर्वीचौकीका अध्यक्ष टेकबहादुर बोगटीले बताए ।
गाउँपालिकाको केन्द्रमा रहेको १० शैयाको अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याउने गरी सहमति भएको बोगटीले जानकारी दिए । यस्तै, पूर्वीचौकी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरू, कृषि तथा पशु सेवा केन्द्रमा यथाशीघ्र औषधी, उपकरण र किटनाशक विषादीहरूको व्यवस्थापन गरी वितरण गर्ने सहमति भएको छ ।
सहमतिपछि गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायको उपस्थितिमा एमाले पूर्वीचौकी अध्यक्ष बोगटीले ताला खोलिदिएका छन्
