
मङ्सिर ५, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलसँगै अदालतमा पेस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएसँगै पक्राउ गरिएको ब्युरोका एसपी होबिन्द्र बोगटीले बताए ।प्रहरीले उनीविरुद्ध अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
