
मङ्सिर १६, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडा अध्यक्ष पदका लागी भएको उपनिर्वाचनमा ८ सय ३९ मत खसेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु बेलुका ५ बजे सम्म भएको मतदानमा एक हजार पाँच सय ९३ मतदातामा ८ सय ३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिए । खसेको मत कुल मतदाताको करिब ५२.७ प्रतिशत हो ।

गत निर्वाचनबाट निर्वाचित वडा अध्यक्षको निधन भएपछि भएको उपनिर्वाचनमा वडा भरीमा तीन ओटा मतदान केन्द्र तोकिएका थिए । शारदा आधारभूत विद्यालय मतदान केन्द्रमा १०१, शिशु सुधार माध्यमिक विद्यालय (क) मा ३३७ र शिशु सुधार माध्यमिक विद्यालय (ख) मा ३६१ मत खसेको हो ।
निर्वाचन स्थलबाट मतपेटिका गाउँपालिकाको केन्द्र उपनिर्वाचनको मुख्य कार्यालयमा लगिसकिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आजै सर्वदलीय बैठक बसेर मत गणना सुरु गर्ने बताइएको छ । वडाध्यक्ष पदका लागि काँग्रेसका मोहन थापा, एमालेका देव थापा, माओवादी केन्द्रका देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवर चुनावी प्रतिस्पर्धामा छन् ।
