
सुबास नेपाली
मङ्सिर २०, डोटी । महिला हिंसा न्यूनीकरण सम्बन्धी गरिने सचेतनात्मक क्रियाकलापहरूले महिला हिंसा न्यूनीकरणमा ठुलो सहयोग पुगेको महिलाहरूले बताएका छन् । दिपायल सिलगढी नगरपालिका, दलित महिला सङ्घ फेडो र जुरी नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नं ५ बागठाटा र वडा नं ९ कलेनामा गरिएको २ दिने रिफरल सहयोग सचेतना तथा गाउँघर क्लिनिक कार्यक्रममा सहभागी महिलाहरूले उक्त कुरा बताएका हुन् ।

हिंसा सहनु पनि अपराध भएको र यस्ता कार्यक्रममा सहभागी हुँदा आफ्नो घर परिवारमा हुने हिंसा विरुद्ध आवाज उठाउन सक्ने भएको स्थानीय महिला बताउँछन् । चेतन नहुँदा आफूहरूले हिंसा सहनु पर्ने बाध्यता रहँदै आएकोमा सचेनामुलक कार्यक्रममा सहभागी भएपछि कानुनी उपचारको बाटोमा कसरी जाने भन्ने बारे जानकारी हुनुका साथै हिंसा न्यूनीकरण सम्बन्धी आफूहरूले समूहमा छलफल गर्ने गरेको स्थानीय लक्ष्मी नेपाली बताइन् ।
महिलाहरू अझै पनि चेतना अभावमा हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको र कयौँ महिला दिदिबहिनीहरुले ज्यान समेत गुमाउनु परेको तितो यथार्थलाई हाम्रो समाजमा रहेको भन्दै गाउँघर क्लिनिक मार्फत महिला हिंसा सम्बन्धी सचेतना फैलाउने र हिंसा भएमा कुन निकायमा के सेवा पाइन्छ भन्ने जानकारी दिने गरेको दलित महिला सङ्घ फेडोकि अध्यक्ष सरिता दियालीले बताइन् । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती महर साउदले हिंसा सहेर बस्नाले शारीरिक तथा मानसिक रूपमा महिलाहरू कमजोर हुने र त्यसले परिवार, समाजलाई ठुलो क्षति हुने भन्दै महिलाहरू आफू सक्षम र सबल हुनु पर्ने बताइन् । उनले महिलाहरूको सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न महिला लक्षित कार्यक्रम गरिएको बताइन् ।
कार्यक्रममा महिला सम्बन्धी काम गर्ने विभिन्न सङ्घ सस्थाहरुले हिंसामा परेका महिलाहरूलाई कानुनी उपचार, स्वास्थ्य उपचार तथा मनोवैज्ञानिक परामर्श जस्ता विषयमा जानकारी दिएका थिए ।
