
सुबास नेपाली
मङ्सिर ३०, डोटी । डोटी स्थित बाल सुधार गृहमा कानुनको विवादमा परेका बालकहरूका लागि विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । बाल सुधार गृहमा रहेका बालकहरूका लागि क्रिया पुत्री सामाग्री, सरसफाइ सामाग्री, पानी खाने जग र राइस कुकर लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला अदालतका न्यायाधीश रुद्र मणि गिरि, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको उपस्थितिमा प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँकी कार्यक्रम अधिकृत सुधा कार्कीले सामग्री बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बूलाई हस्तान्तरण गरेकी हुन् ।

बालकहरूलाई व्यक्तिगत सरसफाइ, कृया पुत्री बस्न, खानपिनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री प्रदान गरिएको प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँकी कार्यक्रम अधिकृत कार्कीले बताइन् । बाल सुधार गृहको अवस्था गृहमा रहेकाहरूको आवश्यकता परिपूर्ति गर्न राज्य हरदम लागि परे पनि सीमित श्रोत साधनले थेग्न नसक्ने भन्दै आवश्यकता पूर्ति गर्न सबै क्षेत्रबाट सहकार्य हुनु पर्ने भन्दै यही मर्मलाई आत्मसात् गर्दै प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँले गरेको सहयोगले बालकहरूका थोरै भए पनि आवश्यकता पूरा हुने बताइन्।
बाल सुधार गृहमा हाल सुदूर पश्चिम प्रदेशको कञ्चनपुर बाहेक ८ जिल्ला र लुम्बिनी प्रदेशको दाङ गरी ९ जिल्लाका ६० जना कानुन विवादमा परेका बालकहरू रहेका छन् ।
