यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा

पुस १, काठमाडौँ । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो ।

नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ  । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । जितको लागि एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ बनाइन् । उनले ४७ बलमा चार चौकाको सहयोगमा अविजित उक्त रन बनाएकी हुन् ।

Sayalb

बलिङमा पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले एक एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । बलिङमा नेपालका कप्तान पूजाले दुई तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिइन् । पहिलो पटक आयोजना भएको  यु–१९ महिला एसिया कपमा नेपालले समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको हो ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो । यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ ।

Shaileshwori
Loading...