
पुस ६, धनगढी । स्वयं र समाजको रूपान्तरणका लागि ध्यान भन्ने नाराका साथ पहिलो विश्व ध्यान दिवस धनगढीमा मनाइएको छ । धनगढीमा पहिलो ध्यान दिवस नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको योग तथा ध्यान विभागले आयोजना गरेको हो ।
विश्व ध्यान दिवसका अवसरमा नेकपा माओवादी केन्द्र निकटको सुदूरपश्चिम योग तथा ध्यान विभागलाई पनि पूर्णता दिइएको छ । शनिवार प्रथम विश्व ध्यान दिवसका अवसरमा ध्यान तथा साधना पछि सुदूरपश्चिम इन्चार्ज पार्किको नेतृत्वमा सुदूरपश्चिमका नौ वटै जिल्लाहरूबाट एक/एक जना सदस्य रहने गरी सुदूरपश्चिम योग तथा ध्यान विभागलाई पूर्णता दिइएको हो ।
शनिवार अर्थात् डिसेम्बर २१ मा मनाइएको विश्व ध्यान दिवसमा विभिन्न ध्यानका विधिहरू अपनाएर ध्यान गर्दै आएका नेकपा माओवादी केन्द्र निकटका साधकहरूका बिचमा ध्यानका विषयमा चर्चा परिचर्चा गरिनुका साथै ध्यान दिवसको महत्वका बारेमा वृहत् छलफल गर्दै विश्व ध्यान दिवस मनाइएको छ ।
योग तथा ध्यान विभागका सुदूरपश्चिम इन्चार्ज जगत पार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा पार्टी नेता गिरिराजमणि पोखरेलको प्रमुख अतिथ्यतामा विश्व ध्यान दियोस् मनाइएको छ । कार्यक्रममा ध्यान गुरु स्वामी प्रेम आलोक र जनजाति कल्याण आश्रमका केन्द्रीय सचिव मिलन भट्ट लगायतका ध्यान गुरुहरूले ध्यान, विज्ञानका बारेमा सहभागीहरूलाई बताएका छन्। कार्यक्रममा बोल्दै पार्टीका नेता तथा कार्यकर्ताहरूको ध्यान र साधनाबाट समाज रूपान्तरणमा सिर्जनात्मक भूमिका रहनेमा ध्यान गुरुहरूले जोड दिएका थिए ।
शनिवार धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माओवादी नेता गिरिराजमणि पोखरेलले पार्टीले समाज र राष्ट्र परिवर्तनका लागि गरेको क्रान्ति सही भएको र अब नेता र कार्यकर्ताले आफूभित्र गर्नुपर्ने परिवर्तनका लागि ध्यान गर्नु आवश्यक रहेको बताए । ध्यान एउटा विज्ञान हो, विभिन्न ध्यान विधिहरूमा भएका सकारात्मक र वैज्ञानिक पक्षहरूलाई अङ्गालेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने प्रमुख अतिथि नेता पोखरेलले बताए । उनले प्रथम विश्व ध्यान दिवसको हाम्रो नाराले पनि स्वयं र समाज परिवर्तनका लागि ध्यान गर्नुपर्नेमा जोड दिएको बताउँदै आफ्नो र समाजको परिवर्तनका लागि ध्यानमा लाग्न सबैमा अपिल गरे ।
ध्यानेनात्मनि पश्चियन्ति केचित् तन्ना ।

अन्ये साङ्खेन योगेन कर्मयोगेन चापरे ।।
अर्थात् ध्यानमार्फत केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन् । अन्यले ज्ञान मार्ग, योग मार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन् । भन्ने कुरामार्फत ध्यान र आन्तरिक शक्तिको मार्गको महत्वलाई स्पष्ट पार्दछ । ध्यान आत्म चिन्तनको शक्तिशाली माध्यम हो।
२१ डिसेम्बर सन् २०२४ मा विश्व नै पहिलो पटक विश्व ध्यान दिवस मनाउँदै छ। यस वर्ष २०२४ को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो। नेपाल सरकारले पनि विश्व ध्यान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।
पछिल्ला समयहरूमा विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि यसको महत्त्व हुने बताउँदै आएका छन् । विशेष गरी तनाव व्यवस्थापन आत्म चिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान जस्ता कार्यक्रमहरूले विशेष सहयोग पुर्याउनेछ ।
धनगढीमा नेकपा माओवादी केन्द्रको ध्यान विभागले गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्ट, ओम प्रकाश पुन, शिवसिंह ओली, अक्कल रावल, लोकेन्द्र लम्साल, नेपबहादुर चौधरी लगायतका नेताहरूको सहभागिता रहेको थियो । यस्तै प्रदेश सभा सदस्य गीता माल, जानकी कुँवर लगायतका नेताहरू पनि ध्यान दिवसमा सहभागी थिए ।
सुदूरपश्चिम योग तथा ध्यान विभागको इन्चार्जमा जगत पार्की, विभागका सदस्यहरूमा कञ्चनपुरबाट अरुण भट्ट, दार्चुलाबाट करनसिंह कार्की, अछामबाट चेतना रेग्मी, डोटीबाट तेज डुम्रेल, बैतडीबाट शङ्कर भण्डारी लगायत नौ वटा जिल्लाबाट एक एक जना सदस्य रहने गरी विभागलाई पूर्णता दिइएको छ ।
