
पुस १७, डोटी । जिल्ला मालपोत कार्यालय डोटीले अडियो बडापत्रको सुरुवात गरेको छ । सेवाग्राहीहरूको सहजताको लागि कार्यालयले अडियो बडापत्रको सुरुवात गरेको हो । मङ्गलवार (हिजो) बाट सुरुवात गरिएको अडियो बडापत्रमा स्थानीय डोटेली भाषाको प्रयोग गरिएको छ ।
सरकारी कार्यालयहरूमा अडियो बडापत्रको सुरुवात गर्ने मालपोत कार्यालय डोटी सुदूरपश्चिम प्रदेशकै पहिलो कार्यालय बनेको छ । यसरी अडियो बडापत्रको सुरुवात यहाँको लागि नौलो अभ्यास हो । अडियो बडापत्र स्थानीय भाषामा तयार पारिएकाले सेवाग्राही बढी लाभान्वित हुने कार्यालयको विश्वास छ । कार्यालयबाट प्रवाह हुने सेवा र प्रक्रिया बारेको जानकारी डोटेली भाषाको अडियो बजिरहने भएकाले कार्यालयमा आउने सेवाग्राहीको ध्यान केन्द्रित हुने हुँदा यो अभ्यास प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

भित्ते लिखित बडापत्रको तुलनामा अडियो बडापत्र प्रभावकारी हुने कार्यालयका सूचना अधिकारी शिद्धराज श्रेष्ठले बताए । उनले भने, “हाम्रो कार्यालयमा आउने सेवाग्राहीहरूको शैक्षिक स्थिति फरक फरक हुन्छ, धेरै जसो सामान्य लेखपढ गर्न नजान्ने र नेपाली भाषा नबुझ्ने खालका हुन्छन् त्यस्ता सेवाग्राहीलाई अडियो बडापत्रले सहयोग गर्ने छ अन्यथा लेखपढ गर्न सक्नेहरूका लागि लिखित भित्ते बडापत्र र प्रविधिको प्रयोग गर्नेहरूको लागि क्युआर बाट पनि बडापत्र हेर्न सकिने व्यवस्था छ ।” प्रमुख जिल्ला अधिकारीको सुझाव र सल्लाहमा कार्यालयमा अडियो बडापत्रको सुरुवात गरिएको र भाषा विज्ञहरूको सहयोगमा भाषा अनुवाद गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
अडियो बडापत्रको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीबाट भएको छ । अडियो बडापत्रको उद्घाटनका क्रममा प्रजिअ जोशीले कार्यालयमा सेवाग्राहीहरूलाई सेवा लिन आउँदा कुनै प्रकृतिको हैरानी बेहोर्नु नपरोस्, सहजता होस, सेवाको गुणस्तर कायम हुनुका साथै छिटो छरितो सेवा प्रवाहमा थप टेवा पुगोस् भन्ने हेतुले अडियो बडापत्रको सुरुवात गरिएको बताए । डोटी जिल्लाका अन्य कार्यालयहरूमा पनि क्रमशः डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको व्यवस्था गरिने समेत जोशीले बताए ।
अडियो बडापत्रमा कार्यालयले कुन कुन सेवा उपलब्ध गराउँछ, कुन सेवा लिन कुन कोठा जाने, आवश्यक कागजात के के चाहिन्छ, प्रक्रिया के हो, कति समय लाग्छ, दस्तुर कति लाग्छ, समयमै काम नभए गुनासो गर्नको लागि गुनासो अधिकारीको नम्बर लगायतका जानकारी राखिएका छन् । आउने दिनहरूमा बडापत्रमा थप जानकारी समावेश गर्दै जाने कार्यालयले बताएको छ ।
