एमाले बैठक : पार्टीले कुनै पनि किसिमको गुटबन्दीमा निगरानी राख्नुपर्नेमा जोड

पुस २२, काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको बताए ।

बैठकका क्रममा सञ्चारकर्मीसँग उनले अधिकांश केन्द्रीय सदस्यले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए । उनका अनुसार पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधि भएको खण्डमा निगरानीमा राख्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएको बताए ।

‘बैठकमा आज पनि पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ। अहिलेसम्म ५६ जना नेताहरुले आफ्नो राय राख्नुभएको छ । मूलतः सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ‚’ उनले भने, ‘दोस्रो कुरा, पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहीँ पनि गुटगत आशयका गतिविधिहरु भए भने त्यसलाई निगरानीमा राख्नुपर्छ। पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनै पनि मतभिन्नता छैन ।’

Sayalb

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेको उनको भनाइ छ । ‘आफ्नो इन्ट्रेस्ट पूरा गर्नका निम्ति विभिन्न स्वार्थ समूहहरु बनाएर पार्टीको नेतृत्व खासगरि आगामि निर्वाचनका लागि वडा, पालिका र प्रदेशमा केही पदको लागि गुटबन्दी बनाइरहेको आभाष हुन्छ तर विचारधारात्मक र संरचनात्मक रुपमा पार्टीमा कुनै गुट छैन‚’ उनले भने, ‘यस्तो चिजलाई निर्मूल बनाएर पार्टीलाई एकढिक्का बनाउनुपर्छ । यसका लागि पार्टी स्कुलिङमा जिल्ला तहसम्म जानुपर्छ भन्ने विषयमा विषेश जोड दिइरहनुभएको छ ।’

उनले पार्टीलाई सबलीकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउन वडाकेन्द्रित संगठन अभियान सञ्चालन गर्न पेश भएको कार्ययोजनालाई कार्यान्वयन गर्न केही समस्या देखिएको उल्लेख गर्दै यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको बताए ।

‘तेस्रो विषय पार्टीलाई आधारभूत विषयमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडाकेन्द्रित संगठन अभियान संचालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरामा हामीकहाँ नीति बनाउने कुरामा, कार्यक्रम बनाउने कुरामा भूमिका खेलेका छौँ‚’ उनले भने, ‘तर कार्यान्वयनमा केही समस्याहरु छन्। त्यसको कार्यान्वयनका लागि जिल्ला र प्रदेशका पार्टी इन्जार्जहरुलाई निर्देशन गरेर त्यो कार्यान्वयनमा जोड दिने र पार्टीको नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा भए नभएको अनुगमन गर्ने लगायतका सन्दर्भमा धारणाहरु आइरहेका छन् ।’

Shaileshwori
Loading...