
पुस २४, डोटी । डोटी जिल्लामा टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी माघ १६ गतेदेखि २० गतेसम्म पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । सिलगढीको टुँडिखेलमा सञ्चालन हुने जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता विद्यालयबाट आयोजना हुन लागेको जिल्लाकै पहिलो क्रिकेट प्रतियोगिता हो ।
बुधवार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१ ‘पद्म पब्लिक प्रिमियर कप–२’ आयोजना गर्न लागेको जानकारी दिएको छ । गत वर्ष नगर स्तरका विद्यालय बिच प्रतियोगिता सम्पन्न भएकोमा यो वर्ष जिल्ला स्तरमा प्रतियोगिताको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए । उनले प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु. ५५ हजार ५ सय ५५ र ट्रफी रहेको बताएका छन् । द्वितीय पुरस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतीय पुरस्कार रु. ११ हजार १ सय ११ रहेको छ ।
त्यस्तै म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, प्रत्येक खेलका म्यान अफ दि म्याच लगायतका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी विद्यालयको टोलीमा समावेश भएको विद्यार्थी सोही विद्यालयमा अध्ययनरत हुनुपर्ने छ ।

देशमै क्रिकेटप्रति आकर्षण बढिरहेका बेला विद्यार्थीहरूको सम्भावनालाई उजागर गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक एवं खेल संयोजक हिक्मत शाहीले बताए । उनले भन्ने, “देशमा क्रिकेट खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सृजना भइसहेको छ, हाम्रा विद्यालयहरूमा भविष्यका थुप्रै खेलाडी होलान्, यो प्रतियोगिताले त्यस्ता प्रतिभाको पहिचान गर्न मद्दत गर्ने छ ।”
विद्यालयले आयोजना गर्न लागेको प्रतियोगितामा जोडिन पाउँदा खुसि लागेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । उनले भने, “म पनि पूर्व खेलाडी हुँ, खेल र खेलाडीको विकासका लागि हुने प्रतियोगितामा जोडिन पाउँदा खुसी लाग्छ यो प्रतियोगिता सम्पन्न गर्न म भरपुर सहयोग गर्ने छु ।” भर्खरै सम्पन्न भएको एनपिएलमा डोटीबाट तिन जना खेलाडी सहभागी भएकोमा आगामी वर्षहरुमा थप खेलाडी त्यो स्तरमा पुगाउन यस्तो प्रतियोताले सहयोग गर्ने मलासीको भनाई छ । उनले जिल्लाका अन्य वडा अध्यक्षहरुलाई प्रतियोगितामा विद्यालयको सहभागिताको लागि आवश्वक सहयोग गरिदिन आग्रह गरेका छन् ।
नकआउट चरणमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने विद्यालयले आगामी माघ १० गतेभित्र टिम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र ९ ले पनि आर्थिक सहयोग गर्ने भएका छन् ।
